देशलाई सही बाटोमा हिँडाउन एक मतको ठूलो महत्त्व हुन्छ : केपी ओली


अगर बत्ती

access_time 25 Nov 2022

दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको जनाका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विजय उत्सव मनाउन तथा मतदाताहरूसँग भेट्न गृहनगर दमक आएका ओलीले सो धाराणा व्यक्त गरेका हन् । 

युवाहरूमा राजनीतिप्रति विकर्षण नरहेको बरु आकर्षण रहेको निर्वाचनले देखाएको उनले जनाए। “निर्वाचनप्रति, चुनावप्रति युवाको आकर्षण छैन सिद्धियो भन्ने बाहिर हल्ला थियो, युवाहरूको उम्मेदवारकै पङ्क्ति देख्दा त्यो कुरा होइन रहेछ भन्ने स्पष्ट रूपमा देखियो” अध्यक्ष ओलीले भने । 

ओलीले राष्ट्रिय राजनीतिलाई खेलबाडको रूपमा लिइन नहुने भन्दै राजनीतिलाई लोकतन्त्र बनाउन निर्वाचनको अपरिहार्यता रहेको जनाए । निर्वाचनलाई रमाइलोको रूपमा हेर्ने विषय नभएको टिप्पणी उनको थियो । 

निर्वाचनको परिणामप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीरतालाई बुझेर उम्मेदवार उठ्ने, उम्मेदवार उठाउने र मतदान गर्ने अवस्था सिर्जना हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको जनाए । आफूले आम मतादाताको निर्णय र मतको सम्मान गर्ने भन्दै ओलीले परिणामले निर्वाचनको गम्भीरतालाई त्यति धेरै आत्मसाथ नभएकोजस्तो देखिएको जनाए । 

देशलाई सही बाटोमा हिँडाउन एक मतको ठूलो महत्त्व हुन्छ र त्यो मतलाई बिचार एवम् सिद्धान्तलाई बुझेर प्रयोग गर्दा न्यायोचित हुने उनले बताए । “राजनीतिक दलहरूले जनतालाई बुझाउन नसकिएको हो कि ? जनताको मागलाई उपयुक्त ढङ्गले सम्बोधन र सुनुवाइ गर्न नसकेर पो हो कि ? यस्ता विषयमा अब गम्भीर समीक्षा जरुरी छ” ओलीको भनाइ छ । 

निर्वाचन परिणामले स्थायित्व र स्थिरता नदिने सङ्केत गरेको भन्दै ओलीले यसले मुलुकको विकास र प्रगतिमा अवरोध आउन सक्नेमा चिन्ता रहेको बताए । “मिलीजुली सरकार बनाउन तिर अब राजनीतिक दलहरू लाग्नु पर्ने अवस्था आएको छ र अब सुरुवातदेखि नै मोलतोल, लेनदेन सुरु हुन्छ” अध्यक्ष ओलीले भने ।



Share Your Thoughts