मिश्रको ‘विचारभन्दा माथि देश’ दस्तावेज विवेकशील साझाद्धारा खारेज


अगर बत्ती

access_time 02 Oct 2022

काठमाडौँ – विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेजलाई घातकको संज्ञा दिँदै खारेज गरेको छ।  विवेकशील साझा पार्टीको शुक्रबारको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।   विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालीन अध्यक्ष मिश्रले अघि सारेको उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसँगै मिश्रको दस्तावेज खारेज गरिएको हो ।  मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्ने पनि बैठकले निर्णय गरेको छ।  तत्कालीन अध्यक्ष मिश्रसँग असन्तुष्ट रहेर पार्टीबाट राजीनामा दिई स्वतन्त्र बसेका नेताहरूलाई पुन: सक्रिय हुन पनि विवेकशील साझाले आग्रह गरेको छ।  मिश्र विवेकशील साझा छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा वरिष्ठ उपाध्यक्षको हैसियतमा गएका छन्। मिश्रले राप्रपा प्रवेश गर्नका लागि गत सोमबार पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए।  उनी गत बुधबार राप्रपामा प्रवेश गरेका थिए। राप्रपा प्रवेश गरेको दुई दिनपछि उनले काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्।  मिश्र राप्रपा प्रवेश गरेपछि उनले विवेकशील साझामा प्रवेश गराएको विचारभन्दा माथि देश खारेज भएको हो।



Share Your Thoughts