नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार


अगर बत्ती

access_time 05 Aug 2022

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन्।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देश बीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको थियो।

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको जनाए।

‘नेपाल एक चीन नीतिको पक्षमा छ। नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाणले भने। 

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको जनाए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको धारणा थियो।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी थिइन्।

सरकारले बिहीबारमात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जनाइन्।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको जनाइन्। उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जनाएकी थिइन्।



Share Your Thoughts