काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट, कार्यालय खर्च मात्रै २० प्रतिशत


अगर बत्ती

access_time 24 Jun 2022

 काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ। 

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन्।

यो कुल बजेटको २० प्रतिशत हो।   त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । 

महानगरले सार्वजनिक शौचालय, शीत भण्डार, केएमसी मार्ट निर्माण तथा सञ्चालन कार्यक्रम बजेटमा समावेश गरेको छ।   शवदाह गृह,पार्क तथा हरियाली प्रवद्र्धन र नदी किनारहरुमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ। 

यस्तै महानगरले काठमाडौंका परम्परागत हिति(ढुंगेधारा)हरु पुर्नस्थापना गर्ने भनेको छ। जुन ठाउँमा पहिलेजस्तै प्राकृतिक रुपले पानी खसाल्न सकिन्छ,त्यहाँ त्यसैअनुरुप हिति पुर्नस्थापना गरेर पानी आपूर्ति गर्ने महानगरको कार्यक्रम छ। यस्तै पानी आपूर्ति हुन नसक्ने हितिलाई पनि काठमाडौंको कला र संस्कृति प्रर्वद्धनको निम्ति पुनर्स्थापना गरिने काठमाडौंँ महानगरले जनाएको छ।



Share Your Thoughts