अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम अगाडि बढाउन ओली नै सबैभन्दा बढी जिम्मेवार : प्रचण्ड


अगर बत्ती

access_time 23 Jun 2022

काठमाडौं ।  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार नै बढी जिम्मेवार भएको बताएका छन्। त्यसमा पनि तत्कालीन अवस्थामा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका ओली जिम्मेवार रहेको प्रचण्डको आरोप छ।

सन् २०१५ मा ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमति गरेको पत्र भेटिएको प्रचण्डको जिकिर छ।  बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिरसमेत गरे। 

तर, 'ओली गुटुले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाएजसरी प्रचार गरेर झुट र बेईमानी गरेको उनको आरोप थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दुतावासलाई पठाएको एसपीपीसम्बन्धी पत्रमा रक्षामन्त्रीको निर्देशनानुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने प्रचण्डको तर्क छ। 

प्रचण्डले अमेरिकाको अनुदान परियोजना ९एमसीसी० सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणा गराएको दाबी गरे। 'हामीले १२ बुँदे घोषणा पत्रमार्फत् नगएको भए खतरा के थियो भने सबै चिज फेरि गुम्ने खतरा पैदा भएको थियो। हामीले सरकारबाट, गठबन्धनबाट, सभामुखबाट, प्रदेशबाट सबैतिरबाट हात धुनुपर्ने स्थिति र निकै नै अफ्ठ्यारो स्थिति आउन सक्थ्यो,' प्रचण्डले भने। 

प्रचण्डले आगामी संसदीय र प्रदेश सभाको निर्वाचनमा आफ्नै खुट्टामा उभिएर जित्ने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। निर्वाचन जित्नका लागि लोकप्रिय नेताहरु तय गर्ने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 



Share Your Thoughts