किन फासफुस भयो जहाज र हेलिकप्टर सञ्चालकहरुको हड्ताल?


अगर बत्ती

access_time 23 Jun 2022

काठमाडौँ- निजी हेलिकप्टर सञ्चालकहरुको संस्था (आओन)ले बुधबारदेखि गर्ने भनेको हड्ताल प्रभावित भएको छ।

सरकारको चेतावनीसाथै हेलिकप्टर सञ्चालकबीचमा मतभेद भएपछि हड्ताल प्रभावित बन्न पुगेको हो।

उनीहरुले सांकेतिक रुपमा सामान्य तरिकाले हड्ताल गरे पनि सबै निजी हेलिकप्टर सञ्चालकहरुको समर्थन भने पाउन सकेनन्।

हेलिकप्टर पार्किङको लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्यन प्राधिकरणले पार्किङको लागि काठमाडौं बाहिर अनिवार्य जानुपर्ने निर्णय गरेपछि सञ्चालकहरुले प्राधिकरणको निर्णयमा असहमति जनाउँदै हड्तालमा उत्रिने निर्णय गरेका थिए। तर उक्त हड्तालमा बुद्ध, यति,श्रीलगायतका जहाज कम्पनीहरु सहभागी नभएपछि हड्ताल प्रभावित भएको हो।

बुद्ध, यति, श्री एयरका चालकहरुले मानवीय उद्धार तथा यात्रु सेवा जस्ता अनिवार्य कामबाट पछि हट्न नमिल्ने बताएका थिए।

आधिकारिक स्रोतका अनुसार निजी सञ्चालकहरुलाई प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट अनिवार्य सेवा सर्त उल्लंघन गरे कारबाही गर्ने चेतावनीपछि आओन नेतृत्व एक्लिन पुगेको हो।

नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पूर्व प्रतिवद्धताअनुसार निजी सञ्चालकहरुले हेलिकप्टर काठमाडौं बाहिर लगेर पार्किङ गर्नुपर्ने सहमति बदलेकाले समस्या उत्पन्न भएको बताए।

प्राधिकरणले भक्तपुरको नलिन्चोकमा ह्याङ्गर (हेलिकप्टर पार्किङ स्थल) निर्माण गर्ने तयारी अघि बढाएको छ।

प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले नलिन्चोकमा ह्याङ्गर निर्माण गर्ने तयारी हुँदै गरेको बताए।

उनले देशसञ्चारसँग भने– ‘ह्याङ्गर बनाउने तयारी छ तर केही वर्ष लाग्छ होला, हेलिकप्टर काठमाडौं बाहिर पार्किङ गर्न नमान्दा समस्या भएको छ। हेलिकप्टर मेन्टनेस तथा चेक गर्न काठमाडौं बाहिर जनशक्ति र सामाग्रीको अभाव हुँदा सञ्चालकहरु काठमाडौंमै पार्किङ गर्न खोज्छन्। काठमाडौंमा ठाउँ छैन। सञ्चालहकरुले पूर्वसहमति लत्याएका छन्, प्राधिकरणको तर्क र निर्णय ठीक छ, हेलिकप्टर सञ्चालकहरुले मान्नुपर्छ।’

निजी हेलिकप्टरहरुले उडान अनुमति लिनुअघि काठमाडौं बाहिर पार्किङ गर्ने भनेर सहमति गरेपनि त्यो पालना नगरेको प्राधिकरणको भनाइ छ।

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर सञ्चालनमा छन्।

प्राधिकरणको केही दिनअघि बसेको बैठकले हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै १४ वटा हेलिकप्टरलाई अबदेखि नाइट–स्टप पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको थियो।

नाइट–स्टप पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि नाइट–स्टप पार्किङका लागि बाहिर जानुपर्ने प्राधिकरणले निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ।

प्राधिकरणले गरेको निर्णय बुधबारदेखि हेलिकप्टर र असार १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू गर्ने बैठकले निर्णय गरेको थियो।

यस्तै हेलिकप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङख्याभन्दा धेरै पार्किङ गर्न नपाउने पनि चेतावनी दिएको छ।

यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने प्राधिकरणको निर्णयमा पनि हेलिकप्टर सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् । यस्तै अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुईटा पाइलट अनिवार्य राख्नुपर्ने प्राधिकरणले भनेको छ ।

मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एकजना पाइलटले पनि सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउने प्राधिरकणले जनाएको छ।

निजी हेलिकप्टर सञ्चालकहरुले प्राधिकरणका विभिन्न निर्णयमा असन्तुष्टि जनाउँदै हड्ताल गर्ने भनेपनि उनिहरुबीच नै मतभेद हुँदा तथा सरकारको चेतावनीका कारण सांकेतिक हड्ताल मात्रै गरेका छन्।



Share Your Thoughts