जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित


अगर बत्ती

access_time 20 Jun 2022

जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा पनि भएको छैन ।   

जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ । जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने, ‘अहिलेसम्म चुनाव नै सकिएको छैन, जिल्लाहरूमा जिल्ला समन्वय समितिको चुनाव चलिरहेको छ ।’ त्यसको परिणामसहित समीक्षा प्रतिवेदन पठाउन जिल्ला कमिटीलाई भनिएको उनले बताए ।   

चुनावको समीक्षात्मक प्रतिवेदन आउने बित्तिकै पार्टीको बैठक बस्ने उनले बताए । यसअघि जेठ ३० गतेसम्म समीक्षा प्रतिवेदन पठाउन जिल्ला समितिहरूलाई सर्कुलर गरिएको थियो । तोकिएको समयमा सबै ठाउँबाट प्रतिवेदन आइपुगेको छैन । कतिपय ठाउँमा जिल्ला समन्वय समितिको चुनाव हुन बाँकी रहेको त्यहाँ चुनाव सकिएपछि मात्र प्रतिवेदन आउने अधिकारीको  धारणा  छ ।   

अन्य विषयमा पार्टीको बैठक कहिले बस्ने÷नबस्ने विषयमा आफूलाई केही जानकारी छैन तर चुनावी समीक्षाका लागि सबै प्रतिवेदनहरू आइसकेपछि मात्र बस्ने कुरा भएको उनले जनाए ।  यता संघीय परिषद्का अध्यक्ष डा.भट्टराई पक्षका नेताहरू भने चुनावी समीक्षाका लागि पर्खिने मुडमा छैनन् । उनीहरुले तत्काल बैठक बस्नुपर्ने दबाब अध्यक्ष यादवलाई दिँदै आएका छन् । अध्यक्ष यादव भने बैठकलाई टार्दै आएका छन् । उनले जिल्ला जिल्लाबाट प्रतिवेदन आइसकेपछि मात्र बैठक बस्ने भन्दै आएका छन् ।   

उनले पार्टीमा देखिएको विवाद बैठकबाट नै समाधान गर्ने बताए पनि बैठक कहिले बोलाउने भनेर निश्चित गरेका छैनन् । उनले पार्टीमा आफ्नो बहुमत सुनिश्चित नभएसम्म बैठक बसाउने पक्षमा देखिएका छैनन् ।  उता, अध्यक्ष डा.भट्टराईले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् । तर, उनले हस्ताक्षर गराउँदा बहुमत सदस्यले हस्ताक्षर गरेका छैनन् । कतिपय सदस्यहरूले बैठकमा उठ्ने मुद्दामा साथ दिने तर यो हस्ताक्षरको लफडामा नपर्ने भन्दै हस्ताक्षर गरेका छैनन् । भट्टराईले केन्द्रीय समिति र संसदीय दलमा बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् ।



Share Your Thoughts