एमालेसँग सहकार्यबारे नेपालको टिप्पणीः जे गरियो गज्जब गरियो भनेपछि कुरा मिल्ने देखिएन


अगर बत्ती

access_time 20 Jun 2022

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वाम एकता आवश्यक भए पनि गल्ती स्वीकार गर्ने संकेत अझै नदेखिएको बताएका छन्।

आइतबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले वाम एकता जरुरी भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै गल्ती स्वीकार गर्ने कुनै तत्परता नदिएकाले त्यसको सम्भावना नरहेको  भने ।स्थानीय तहको चुनावपछि ओलीप्रति तुलनात्मक रुपमा नरम देखिका नेपालले एमालेसँग सहकार्य गर्ने सवालमा संसद विघटनलाई हेर्ने दृष्टिकोणका कारण मिल्न नसकेको घुमाउरो रुपमा बताए।

‘जसले संविधान मिच्ने काम गर्‍यो, पटक–पटक संसद विघटन गर्‍यो। त्यो पक्षले आफ्नो गल्ती कमजोरी स्वीकार गरेको कहीँकतै महसुस गरेको छैन,’ अध्यक्ष नेपालले अगाडि भने, ‘जे गरियो गज्जब गरियो भनेपछि त्यसमा पनि कुरा मिल्ने देखिएन।गल्ती स्वीकार गरेको कतै पाउनु भयो भने हामीलाई भनिदिनुहोला। कसैप्रति जिन्दगीभरी नकारात्मक भइरहनुपर्ने छैन। त्यसो हुँदा विचार मिल्ने दलहरु नै एक ठाउँमा उभिन्छन्।’

वामपन्थी दलहरुको चुनावी सहकार्य वा एकताका लागि केपी ओलीले गरेको संसद विघटनलाई गल्तीका रुपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

संघ प्रदेशका लागि सिट बाँडफाँट चाँडै


अध्यक्ष नेपालले स्थानीय तहको चुनावको अनुभवले संघ र प्रदेशको चुनावका लागि छिट्टै सिट बाँडफाँड हुनुपर्ने बताए। वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा गठबन्धन गर्दा गल्ती भएकाले अब संघ र प्रदेशको चुनावमा त्यसलाई नदोहोर्‍याउने उल्लेख गरे।

नेपालले भने, ‘अब सिट बाँडफाँटका लागि मापदण्ड बनाएर छिटो छलफल गर्नुपर्छ भनिरहेका छौँ। अरु दलले पनि संघ र प्रदेशको चुनावका लागि छलफल थाल्ने पक्षमा छन्।’

स्थानीय तहको चुनवामा समाजवादीले आफ्नै बलमा उठ्न भन्दा पनि गठबन्धनमा भर पर्दा चुनावमा सोचेजस्तो परिणाम नआएको स्वीकार गरे।

‘गठबन्धन गर्दा कहीँकहीँ गल्ती भएकै हो। एकीकृत समाजवादीलाई छाड्ने भनेको ठाउँमा पनि छाडिएन। प्रत्येक जिल्ला, पालिका र वडासम्म समाजवादीलाई छाड्ने भनेको ठाउँमा छाडिएन,’ उनले भने, ‘प्रदेश र जिल्लालाई गठबन्धन गर्न छाड्नु नै गल्ती भयो। आफ्नो शक्तिका आधारमा उम्मेदवारी दिएको भए राम्रो हुन्थ्यो।’

गठबन्धनका घटकहरुबीच स्थानीय तहको चुनावमा भएको कमजोरीबारे अनुभूति भइरहेको नेपालको दाबी थियो।

नेपालको चुनावी प्रणालीका कारण पनि गठबन्धन आवश्यक रहेको नेपालको भनाइ थियो। ‘निर्वाचन प्रणालीका कारण पनि गठबन्धन आवश्यक छ। कुनै पनि दलको बहुमत आउने अवस्था छैन,’ सम्पादकहरुसँग नेपालले भने, ‘चुनावसम्म गठबन्धन कायमै रहन्छ। त्यसपछि पनि विचार गर्नुपर्छ।’

मन्त्रीबारे बोल्ने सकेनन्


पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामबारे खुलेर बोल्न सकेनन्। मन्त्रीको कामकारबाहीबारे सोधिएको प्रश्नमा नेपालले उनीहरुको कामलाई राम्रो र नराम्रो दुवै भन्न नसक्ने भने ।मन्त्री संस्कृतिमन्त्री प्रेम आलेबारे सोधिएको प्रश्नमा उनले भने, ‘मन्त्रीको कार्य सम्पादन समीक्षा गरिनुपर्छ। कमजोरी छन् भन्न पनि सकिँदैन, राम्रो भयो भन्न पनि सकिँदैन।’

उनले मन्त्रीहरुलाई ६ महिनाका लागि भनेर पठाएकाले आठ महिना पूरा भएकाले अब फिर्ता हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘६ महिनाका लागि पठाएको हो। ६ महिनासम्म काम गर्न दिनुहोस्। फेर्ने कुरामा ढिला भइरहेको छ। माओवादी र कांग्रेसमा पनि कुरा उठेर रोकिएको हो। अब छिट्टै मन्त्रीको हेरफेर हुन्छ।’



Share Your Thoughts