काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एसपीपी अघि बढाउँदा नेपाली सेनाले तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई जानकारी नै नदिएको दाबी गरेका छन्।
मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो दाबी गरेका हुन्।उनले रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनु भनेपछि सो प्रक्रिया अघि बढाएको देखिएको बताए।
उपमहासचिव ज्ञवालीले २०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको र नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको दाबी गरे।उनले भने, ‘नेपाली सेनाले एसपीपीबारे निर्देशन पाउँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो। तर, संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन। जंगी अड्डाले पत्र पठायो। रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो। सेनाले पत्राचार गर्यो। त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिँदैन। सम्भवतः सेनाले ठान्यो–रक्षा मन्त्रालयले गो अहेड भनेको छ।’
उपमहासचिव ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भए पनि त्यसको व्यवहारिक प्रयोगमा कठिनाइ हुने गरेको पनि भने ।