काठमाडौँ – संसदमा चार वर्षदेखि विचाराधीन रहेको नागरिकता विधेयक अघि बढाउन सरकारले ठोस पहल थालेको छ।विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेको समेत विश्वासमा लिन गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
खाँड र बन्दीले नागरिकता विधेयक पारित गर्न ओलीलाई आग्रह गरेका छन्।उनीहरु नागरिकता विधेयकका बारेमा सहमति जुटाउन बालकोट पुगेको गृह मन्त्रालयले जानकारी दियो। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको नागरिकता विधेयकको प्रतिवेदन संसदमा अड्किएको छ।
विशेष गरी वैवाहिक अंगिकृत नागरिकता कति समयपछि दिने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन। एमालेले सात वर्षे प्रावधान राख्नुपर्ने बताए पनि कांग्रेस र मधेस केन्द्रित दल त्यसका लागि तयार छैनन्।
यसै साता बालुटार पुगेका जसपा र लोसपाका सांसदहरुलाई तत्कालै नागरिकता विधेयक अघि बढाउने आश्वासन दिएर पठाएका प्रधानमन्त्री देउवाले विधेयक अघि बढाउन मन्त्रीहरुलाई खटाएका छन्।जन्मसिद्धका सन्तानले नागरिकता पाउने विषय संविधानमा प्रष्ट हुँदा पनि कानुन अभावका कारण रोकिएको छ। यसका कारण सयौँ व्यक्ति मारमा परेका छन्।