लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधान गर्न कूटनीतिक प्रयास जारी छः मन्त्री कार्की


अगर बत्ती

access_time 17 Jun 2022

काठमाडौँ–  सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कूटनीतिक प्रयास जारी रहेको भनेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत राष्ट्रिय योजनाआयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिदैँ मन्त्री कार्कीले यस्तो बताएका हुन्।उनले सरकार नेपाली भूमिको रक्षा गर्न कटिवद्ध रहेको बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार स्पष्ट रहेको उल्लेख गर्दै समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको भने ।

मन्त्री कार्कीले सरकार राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानकाआधारमा सबै मित्रराष्ट्रहरुसँग सम्बन्ध बनाउन प्रतिवद्ध रहेको पनि बताए।उनले भने, ‘नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रहरु सँगको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रतिवद्ध छ। नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिवद्ध छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ। सीमा सम्बन्धी विषय संवेदनशील भएकोले वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ। यस अनुरुप हाम्रो कूटनीतिक प्रयास निरन्तर जारी छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अन्तर्राष्ट्रिय सम्बन्धको स्वभाविक प्रक्रिया भएको बताए। मन्त्री कार्कीले अमेरिकाको स्टेट पार्टनरसीप पोग्राममा आवद्ध हुनका लागि नेपाल सरकारले कुनै निर्णय नगरेको र निर्णय गर्ने सोचमा पनि नरहेको स्पष्ट पारे।

उनले तिब्बती शरणार्थी शिविरमा अमेरिकी अधिकारीलाई सरकारको आयोजनामा नघुमाइएको बताए। नेपालले कुनै पनि मित्रराष्ट्रको हितविपरित हुने गरी आफ्नो भूमि प्रयोग गर्न नदिने उनले स्पष्ट पारे।



Share Your Thoughts