प्रम देउवाले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाट


अगर बत्ती

access_time 16 May 2022

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ ।

सोमबार बुद्ध जयन्तीको अवसर पारेर नयाँ विमानस्थलमा आयोजित कार्यक्रममार्फत उहाँले विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो । 

त्यसअघि आजै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको थियो । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०९२३३ विमानले सोमबार बिहान ७ बजे १ सय ७४ यात्रुसहित अवतरण गरेको हो ।  यसअघि बुधबार भारतको दिल्लीबाट अन्तर्राष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो ।

उक्त विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको तीन दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा तीन दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ । 

सन् २०१४ मा विमानस्थल आयोजना प्रारम्भ भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउँदै लैजाने बताइएको छ ।  पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान नागरिक उड्डयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उड्डयनका महानिर्देशक प्रदिप अधिकारीले बताउनु भएको छ ।



Share Your Thoughts