राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा सबै तयारी सकियो


अगर बत्ती

access_time 24 Jan 2022

मोरङ । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि प्रदेश १ मा सबै तयारी सकिएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि तयारी गरिएको हो। यस प्रदेशमा तीन सिटका लागि निर्वाचन हुँदै छ।   

 निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर र वाली संरक्षण प्रयोगशाला विराटनगरमा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।  मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ।    उक्त निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहेका छन्। गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमीत्रा भण्डारी (झापा) र राप्रपाबाट रञ्जु प्याकुरेल(झापा) रहेका छन्।  अल्पसंख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु)ले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ। 

 माघ १२ गते नै मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने छ। आयोगले मतदाताले मत खसाल्नका लागि निर्वाचित आयोगले विजयी हुँदा दिएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रमध्ये एकको आधारमा मतदान गर्न दिने व्यवस्था गरेको छ। रासस



Share Your Thoughts