एमालेमा सहमति जुट्न नसक्दा अन्य पदाधिकारीका विषयमा छलफल अघि बढेन


अगर बत्ती

access_time 28 Nov 2021

सौराहा । नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षमा पदमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङबीच सहमति जुट्न नसक्दा अन्य पदाधिकारीका विषयमा छलफल नै हुन नसकेको बुझिएको छ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरेका पोखरेल र नेम्वाङ दुवैले अडान नछाडेपछि  अन्य पदाधिकारीका विषयमा छलफल अघि बढ्न नसकेको हो।   

अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार केन्द्रीय कमिटी सदस्यको नाम लगभग टुंगिएपछि पदाधिकारीका विषयमा छलफल सुरु गरिएको थियो। तर, आइतबार पूरै वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीबीच सहमति जुटाउने अध्यक्ष ओलीको प्रयासले सार्थकता पाउन सकेन। 

उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको मोटामोटी खाका बने पनि आकांक्षीहरु राखेर छलफल भने गर्न नसकेको ओलीनिकट नेताहरुले बताएका छन्।   

 वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत भएपछि उपाध्यक्ष भीम रावल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा 'बादल', सुरेन्द्र पाण्डे र विष्णु पौडेल वा शंकर पोखरेलमध्ये एकलाई बनाउने प्रारम्भिक खाका तयार भएको थियो।  यसैगरी महासचिवमा पौडेल र पोखरेलमध्ये एक जनाले जिम्मेवारी पाउने छन्। तर, उनीहरुलाई सँगै राखेर अध्यक्ष ओलीले संवाद गर्ने मौका पाइसकेका छैनन्।    उपमहासचिवमा घनश्याम भुसाल, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली वा गोकर्ण विष्टमध्येले मौका पाउने छन्। सहमतिका लागि भुसाललाई त्यही पदमा दोहोरिन ओलीले आग्रह गरिरहेका छन्। ओलीले संवादका लागि बोलाए पनि भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएर टारेका छन्।

‘दश भाइ’बाट भुसाल, माओवादी केन्द्रबाट आएकाहरुको तर्फबाट रायमाझी र ओली पक्षबाट ज्ञवालीलाई उपमहासचिव बनाएर ‘ब्यालेन्स’ गर्ने तयारी रहेको ओलीनिकट नेता बताउँछन्। भुसालले कुनै हालतमा दोहोरिन नचाहेमा विष्टले मौका पाउने छन्।  सचिवमा विष्ट वा ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य दोहोरिने देखिन्छ। पूर्वमाओवादी केन्द्रबाट लेखराज भट्टले मौका पाउने छन्। महिलातर्फ विन्दा पाण्डे, पद्मा अर्याल र शिवमाया तुम्वाहाङ्फेमध्ये एक वा दुईजनालाई सचिव बनाइनेछ। 

ओलीपक्षकै आकांक्षीहरुमा शेरबहादुर तामाङ र खगराज अधिकारीमध्ये एकको सम्भावना बलियो रहेको ओलीनिकटस्थहरु बताउँछन्। सचिवका लागि ओलीनिकटस्थहरु महेश बस्नेत, कर्ण थापा, गोकुल बाँस्कोटालगायतले पनि अपेक्षा राखेका छन्।



Share Your Thoughts