नेपाली भू–भाग लिपुलेक र लिम्पियाधुरामा जनगणना तत्काल अगाडि बढाउन अनेरास्ववियुको माग



access_time 07 Oct 2021

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरु पठाउँदै नेपाली भू–भागमा जनगणना कार्य अगाडि बढाउन माग गरेको छ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेकी हुन्। ‘नेपालमा प्रत्येक दश वर्षमा गरिने जनगणना कार्य यतिबेला हुँदैछ। तर, पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा पनि वर्तमान सरकारले उक्त नेपाली भूमिमा गणकहरु समेत अहिलेसम्म नपठाएको विषयप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धी र अन्य महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरुले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टि गर्दा समेत सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सरकार जनताको अविभावक भए पनि वर्तमान सरकार जनजीविकाको विषयमा एकरति पनि गम्भीर नभएको अनेरास्ववियुले भनेको छ। 

‘नेपालीहरु दशैं, तिहार र छठजस्ता ठूला पर्वको सम्मुखमा छौं, तर बजारमा कालो बजारी बढ्दो छ। बसपार्कमा टिकटको कालोबजारी खुलम्खुल्ला छ। तर, परमादेशी सरकारले पूँजीपतिको पक्षपोषण गर्दै यस्ता क्रियाकलापहरु नियन्त्रणमा ध्यान दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता दैनिक उपभोग्य वस्तुको कालोबजारी निर्मुल गर्न, नियन्त्रण गर्न, अनुगमन गर्न र तत्काल संयन्त्र बनाई कालोबजारी गर्नेहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दर्छौं।’ 

सार्वजनिक यातायातमा भर्खरै सरकारले ३५ प्रतिशतले भाडा वृद्धि गरेकाले सर्वसाधारणहरु मर्कामा परेको अनेरास्ववियुले जनाएको छ। भाडादर तत्काल घटाउन माग गर्दै विगतमा अनेरास्ववियुको संघर्षबाट प्राप्त उपलब्धी यातायात र सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई प्रदान गरिएको ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयन गर्न र अन्य यात्रुहरुलाई सहज ढंगले टिकट उपलब्ध गराउने विषयमा प्रभावकारी अनुगमन, छुट नदिने र कालोबजारी गर्नेहरुलाई तत्काल कारबाही गर्न सरकारसमक्ष माग गरिएको छ।



Share Your Thoughts