मस्तिष्कघात भई पूर्वसांसद एकनाथ रानाभाटको निधन



access_time 22 Feb 2021

चितवन । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो ।  

उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।  

रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।    

रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोडका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो ।

उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । 

नेपाली कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । रासस



Share Your Thoughts