काभ्रेमा नेकपा ओली समूहका नेताको गाडी तोडफोड



access_time 22 Feb 2021

काठमाडौं/ काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका ओली पक्षका केन्द्रीय नेता चढेको गाडी तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिएको बा१५च ७८२१ नम्बरको गाडी गए राति तोडफोड भएको हो । 

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न सुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । केन्द्रीय नेताहरु आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेक थिए। 

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बसेको थियो । चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए । 

दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले जनाए । उनका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् । 

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भनेका छन् । 

कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखि नै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा संघका जिल्ला संयोजक विक्रम चौलागाईंले जनाए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको जनाए । रासस



Share Your Thoughts