चौतर्फी संकटमा प्रचण्ड , परिवारका सदस्यहरु बाहेक अरु सबैले प्रचण्डलाई साथ नदिने अवस्था विकसित



Dharana     remove_red_eye 1625

access_time 23 Jul 2020

काठमाडौं । दशबर्षे जनयुद्धका कमाण्डर प्रचण्ड यतिबेला राजनैतिक रुपमा चौतर्फी संकटमा परेका छन् । प्रचण्डलाई आफ्नै निकटका सदस्यहरुले समेत छोड्ने क्रमले निरन्तरता लिएको छ । प्रचण्डलाई जनयुद्धकालभरि चमत्कारिक नेताका रुपमा लिने गरिन्थ्यो । खुल्ला राजनीतिमा आएसँगै प्रचण्डको राजनीतिक ओह्रालो लाग्ने क्रम जारी छ । 

प्रचण्डले नेकपा एमालेसँग पार्टी एकीकरण गर्न भन्दा पहिले जनयुद्धका सहयात्रीहरुलाई  एक—एक गर्दै अलग्याउने काम गरे । प्रचण्डका राजनीतिक गुरु समेत मानिने मोहन बैद्य ‘किरण’, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, सीपी गजुरेल लगायतका विश्वाशिला नेताहरुले प्रचण्डलाई छोड्दै जाने खालको गतिविधिलाई प्रचण्डले अंगिकार गरेपछि प्रचण्डको राजनीतिक गन्तव्य शंकास्पद बन्दै गएको थियो । एमालेसँगको पार्टी एकताका निम्ति प्रचण्डले पूर्वाधार बनाउँदै आउने क्रममा नै आफ्ना जनयुद्धका सहयात्रीहरुप्रति निर्मम र असहिष्णु बस्दै आएका रहेछन भन्ने कुरा पछिल्ला घटनाक्रमबाट स्पष्ट हुन्छ ।   

प्रचण्डले एमालेसँग पार्टी एकता गरिसकेपछि पनि उनको एकलकाटे मिचाहा प्रवृति भने हटेको छैन । गुटबन्दी नै प्रचण्डको मुख्य हतियार बनेको छ । विचार र सिद्धान्तलाई भन्दा गुटबन्दी र आर्थिक संकलन प्रचण्डका मुख्य कार्य बनेका छन् । हुनत सत्तासीन नेकपा भित्रका अधिकांश नेताहरु गुटबन्दी र आर्थिक बन्दोबस्तीमै रमाएका देखिन्छन् । शैद्दान्तिक विचलनले गर्दा सत्तासीन पार्टी विभाजनको संघारमा पुगेको देखिन्छ । 

यतिबेला प्रचण्डलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मंसिरमा विशेष महाधिवेशन गरेर एकीकृत पार्टीको नेतृत्व प्रस्ताव गरेका छन् । उता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले ओलीलाई दुवै पदबाट राजीनामा गराएर जानुपर्ने भन्दै प्रचण्डलाई आफ्नो वशमा पार्न खोजेका छन् । पूर्व एमालेका  दुई खेमाको तानातानमा प्रचण्ड घेराबन्दीमा परेका छन्  भने आफू भित्रका विश्वनीय सहयात्रीहरुले छोड्दै जाने अवस्था  श्रृजना भएको छ । 

 सत्तासीन नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला प्रचण्डले भने स्पष्ट निर्णय लिन सकेका छैनन् । प्रचण्डको ढूलमुले अवस्थाकै कारण पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेर उनले आत्मबल बढाउने प्रयत्न गरेपनि त्यसबाट उनको हैसियत झन कमजोर बनेर गएको छ । आफ्ना सहयात्रीहरुलाई समेटेर सामूहिक निर्णयका आधारमा चल्न नसक्ने प्रचण्डको स्वभाव एमालेसंगको एकतापछि पनि परिर्वतन भएको छैन, त्यसैले गर्दा प्रचण्डलाई पूर्वमाओवादी नेताहरुले नै ढुक्कसँग साथ दिन सकेका छैनन् । पूर्व माओवादी नेताहरु नै विभाजित भई एक समूहले ओली र अर्को समूहले माधव नेपालतिर कोल्टे फेर्ने गरिरहेका छन् ।  प्रचण्डबाट सुरक्षित नहुने देखिएपछि पूर्व माकेका नेताहरुको अवस्था पनि चिन्ताजनक देखिएको छ । 

प्रचण्डबाट अल्लग्गिएर पार्टी विभाजन गर्दा मोहन बैद्य ‘किरण’ का पक्षमा रहेका  रामबहादुर थापा ‘बादल’ ले पनि प्रचण्डको साथ छोड्ने लक्षण देखाएका छन्,  त्यसैगरी प्रचण्डका अति विश्वास पात्र ठानिएका जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, शक्ति बस्नेत, मणि थापा लगायतले पनि प्रचण्डलाई एक्लो बनाएर ओली अथवा माधवको आश्रयमा पुग्नु पर्ने अवस्था विकसित भएको छ । नारायणकाजी श्रेष्ठ , देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, गणेश साह लगायतका नेताहरुले भने प्रचण्डलाई नै पच्छ्याइरहेको अवस्था छ । यो अवस्थाले प्रचण्डको राजनैतिक उचाईलाई निक्कै कमजोर बनाइरहेको स्पष्ट हुन्छ । 

प्रचण्डको अवस्थालाई देखेर प्रधानमन्त्री केपी ओलीले आफू माथि आइपरेको सत्ता संकटबाट अव खतरा नरहेको निष्कर्ष निकालेको बुझिन्छ । गत शनिबार ओलीले प्रचण्डलाई एक्लै वार्तामा बोलाएर माधव र झलनाथलाई झस्काएका छन् । प्रचण्डले माधव र झलनाथलाई धोखा दिनसक्ने आशंका उनीहरुले गरेका छन् । ओलीसँग समझदारी भएको विषयबारे मिडियामा सार्वजनिक भए लगतै माधव समूहका नेताहरुले प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसलाई चिर्न प्रचण्डले आइतबार बिहानै खुमलटारमा माधव र झलनाथलाई  बोलाएर आफ्नो स्पष्टीकरण दिएका थिए । तर पनि प्रचण्डप्रति माधव र झलनाथ सशंकित भइरहेको अवस्था देखिन्छ । उता ओलीले भने आफ्नो गुट बलियो बनाउने क्रमलाई निरन्तरता दिइरहेका छन् । माधव समूहका नेताहरुले आफ्नो स्थान यथावत राखेपनि प्रचण्ड समूहका नेताहरु भने ओलीतिर ढल्किने क्रम जारी रहेकाले क्रमिक रुपमा ओली समूहको अवस्था बलियो बन्दै गइरहेको छ । ओलीको अवस्थालाई झनै बलियो बनाउन झलनाथ खनाल र बामदेव गौतमले समेत कित्ता परिवर्तन गरेको बजार हल्ला चलाएर ओली पक्षले नयाँ षड्यन्त्र गरिरहेको  छ । यो हल्लाले बजारमा व्यापकता पाएको छ, यस्तो हल्लाको पछि नलाग्न नेता बामदेव गौतमले एउटा टेलिभिजन कार्यक्रम मार्फत आह्वान समेत गरेका छन् ।  

अव सत्तासीन नेकपाको महाधिवेशन गर्ने विषयले चर्चा पाएको छ । महाधिवेशन मंसिरमा भइहाल्यो भने ओलीको हैसियत थप बलियो बन्ने निश्चित देखिएको छ ।  पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र पूर्व माकेले मान्दै आएको २१ औं शताब्दीको जनवादलाई महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको बुझिएको छ । पार्टीमा विवाद चर्किदै जाँदा पूर्व एमालेका नेताहरुले पार्टीको विचार जबज हुने अभिव्यक्ति दिन थालेका छन् । पूर्वमाओवादीका नेताहरुलाई कित्ता परिवर्तन गर्न बाध्य पार्ने जबजको प्रावधान केपी ओलीको लागि ठूलो हतियार बनिरहेको छ । पूर्वमाकेका नेताहरुले सैद्दान्तिक रुपमा जबजलाई स्वीकार नगरेको भए पनि व्यवहारमा जतिपनि लुट्न पाइने जबजको लाइन नै अवलम्बन  गरिरहेका छन् । महाचिबेशनले नेता चयन गर्दा नीति कस्को पारित हुने भन्ने निर्णयक हुने भएकाले प्रचण्डको अवस्था निश्चय पनि दयनीय बन्ने निश्चित छ ।  त्यसैले महाधिवेशनसम्म प्रचण्ड समूहमा प्रचण्डको परिवार बाहेक अरु नरहने अवस्था विकसित भइरहेको छ । – जनधारणा साप्ताहिक 




Prabhu bank

Share Your Thoughts