बिल बिजकभन्दा बढीको सामान बोकेका दुई ट्रक प्रहरीको नियन्त्रणमा


अगर बत्ती

Dharana    

access_time 02 Sep 2022

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयबाट भन्सार पास भएर छुटेको ट्रकलाई प्रज्ञापन पत्रभन्दा बढीको चक्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीले बिल विजकभन्दा बढी चक्लेट बोकेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–२४ बाट पीबी १३ बी ए ०२४७ नम्बरको ट्रकलाई चेकजाँच गरेको थियो।   चेकजाँचको क्रममा उक्त ट्रकबाट प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी र फरक किसिमका चक्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।  बरामद गरिएको चक्लेटको मूल्यांकन ५० लाख गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको गिरीले बताए।  यसैगरी, भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी लत्ताकपडा बोकेको अर्को ट्रक पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डमा ना ५ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट बिलबिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा सामान प्रहरीले बरामद गरेको हो।  बरामद लत्ताकपडा तथा खुद्रा सामानको एक करोड २ लाख ४६ हजार ७५९ रुपैया मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



Share Your Thoughts