पोखरिया वितरण केन्द्रले ३० करोड १६ लाख विद्युत् महसुल संकलन


अगर बत्ती

Dharana    

access_time 17 Aug 2022

 वीरगञ्ज  ।    नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड १६ लाख विद्युत् महसुल संकलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल संकलन गरेको केन्द्रले जनाएको छ ।   

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ । 

 केन्द्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरूबाट ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ  ।

अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमी आएको छ ।   नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट तीन करोड चार लाख ९७ हजार असुल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८/७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा ३७ लाख ५० हजार खर्च गरेको छ ।   

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८/७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ । 



Share Your Thoughts