वीरगञ्ज – स्थानीय तह निर्वाचनको एकाबिहानै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा गरिएको हत्यामा संलग्न रहेको एक नाबालिकासहित १२ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ नगौल टोल बस्ने राकेश भक्त पौडेलको हत्यामा संलग्न रहेका नाबालिकासहित १२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–६ नगौल टोलका सन्दीप थापा, चित्रबहादुर क्षेत्री, सुजन भन्ने सुमन लामा, राजु अधिकारी, दुर्गादेवी खत्री र संते बछार छन्। यस्तै, वडा नम्बर २ फुलबारी टोल बस्ने खगेन्द्र रिजाल, सम्झौता टोल बस्ने उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा बस्ने अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, मसिने मगर भन्ने कुमार मगर,सन्तोष खत्री र एक जना नाबालिका रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।
वैशाख ३० गते बिहान साढे ३ बजे नगौल टोल बस्ने चित्रबहादुर क्षेत्रीको घरमा बसेर खाजा खाइरहेका १२ जनाले पौडेललाई बोलाएर कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका पौडेलको अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो। घटनापश्चात् अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न भएका नाबालिकासहित १२ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि ११ जनालाई वीरगञ्ज कारागार कार्यालयमा पठाइएको तथा नाबालिकालाई बाल सुधारगृह भक्तपुर पठाइएको थापाले बताए।