काठमाडौं । आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भएको छ। काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो।
कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेकपटक जरिवाना गरिने छ।
‘यसअघि सबै किसिमको फोहर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन, त्यसैले अहिले देखि नै बानी पार्नका लागि कामपाले सम्झाएको हो,’ प्रमुख राईले भनिन्।
कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको छ।
३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमा नै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन। रासस