उडान बन्द गर्ने धम्की नदिन वायुसेवा सञ्चालकलाई महानिर्देशक अधिकारीको चेतावनी


अगर बत्ती

Dharana    

access_time 22 Jun 2022

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन्।

उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरिनहाल्ने विश्वास रहेको बताए। महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ? कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए।

उनले भने, ‘मलाई लाग्दैन, व्यवसायी साथीहरुले उडान बन्द गर्नुहुन्छ। उहाँहरु अत्यन्तै जिम्मेवार हुनुहुन्छ। उहाँहरु जिम्मेवारीपूर्वक प्रस्तुत हुनुहुनेछ। यो अतिआवश्यक सेवा हो। हड्ताल कहाँकहाँ गर्न पाइन्छ? कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ। गर्नुहुन्न भन्नेमा म विश्वस्त छु।’

उनले वायुसेवा सञ्चालकलाई आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नदिन आग्रह गरे। प्राधिरकणले २०५७ सालबाट अहिले एक सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले विरोध नगरेको उनले बताए। महानिर्देशक अधिकारीले हवाईजहाज धनीले मात्रै चढ्ने भएकाले कसैको विरोध नदेखिएकोसमेत बताए।

महानिर्देशक अधिकारीले थपे, ‘सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु भन्ने धङ्धङी धम्की नपाल्दा हुन्छ। काठमाडौँबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो। आज १० हजार रहेको छ। प्राधिकरणले ०५७ सालमा २ सय रुपैयाँ लिएको थियो। अहिले ३ सय रुपैयाँ लिन्छ। क्षमता बढी भयो। वायु कम्पनीले २५ सयबाट १० हजार पुर्‍याउँदा कोही बोलेको छैन। जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन्। कसैले विरोध गरेको छैन। गाडी भाडा बढ्दा आन्दोलन हुन्छ।’

यो पनिः वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने

महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए। उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने? भन्दै प्रश्नसमेत गरे।

अधिकारीले विमानस्थल स्ट्यार्ण्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए। उनले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङभन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे। उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए।

महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए। १७ वटा क्षमता भएको ठाउँमा अहिले ४० वटासमेत विमान राखिने गरेको उनको भनाइ छ।

पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनले बताए। अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे। उनले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन्, सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए।

महानिर्देशक अधिकारीले प्राधिकरणको निर्णय कुनै एउटा कम्पनी वा व्यक्तिविशेष नभएर समग्रलाई भएको बताए। उनले यो निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने प्राधिकरण सहयोग गर्न तयार रहेको बताए। विमान कम्पनीहरुले प्राधिकरणको निर्णयमा कोशिस गर्नुपर्ने उनको भनाइ छ।

वायु सेवा सञ्चालक संघ नेपालले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको थियो।

जहाज र हेलिकाेप्टरले राति काठमाडाैँबाहिर ताेकिदिएकाे आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेकाे थियाे‍। साेही निर्णयकाे विराेधमा संघले सेवा बन्द गर्ने घोषणा गरेको हो।



Share Your Thoughts