काठमाडौं / प्रधान सेनापति प्रभुराम शर्मा पाँचदिनका लागि अमेरिका जानेगरी आज नेपालबाट प्रस्थान गरेका छन् । उनी औपचारिक भ्रमणका लागि आज लेवनान प्रस्थान गरेका छन्। प्रधान सेनापति र रक्षा सचिवसहित सात सदस्यीय टोली शनिबार लेवनान भ्रमणका लागि प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि तैनाथ फौजको हौसला बढाउन र यूएन मिसनका विविध पक्ष तथा भावी योजनाबारे जानकारी दिनका लागि भन्दै प्रधान सेनापति शर्माको टोली शनिबार लेवनानतर्फ गएको हो।
उक्त टोली संयुक्त राष्ट्रसंघको आव्हानमा असार १० गतेसम्मका लागि भ्रमणमा गएको हो। भ्रमणका क्रममा लेवनानको अवलोधनपछि सिरियास्थित यूएनडीओएफको पनि निरीक्षण गर्ने कार्यतालिका रहेको छ।
भ्रमणकै क्रममा लेवनान र सिरियापछि प्रधान सेनापति शर्मा अमेरिका पुग्नेछन्। अमेरिकाको निमन्त्रणामा असार १३ गतेदेखि असार १७ गतेसम्म प्रधान सेनापतिसहितको पाँच सदस्यीय टोली अमेरिका पुग्ने नेपाली सेनाले जनाएको छ।
प्रधान सेनापतिको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधान सेनापतिको टोली अमेरिका भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुने जनाईएको छ। कामना गरौं देशको अहितमा कुनै काम नगरियोस् !