राजा र राजसंस्थाबारे भ्रम फैलाइयोः राजेन्द्र लिङदेन


अगर बत्ती

Dharana    

access_time 18 Jun 2022

वीरगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजा र राजसंस्थाबारे जनताबीच भ्रम फैलाएको बताएका छन्।

वीरगञ्जमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीले राजा नै देशको प्रगतिको बाधक भएकाले राजालाई नहटाई देश विकास हुँदैन भनेर भ्रम छरेको बताए।

उनीहरूले यति मात्र नभई जनताले तिरेको कर राजा र राजपरिवार पाल्न खर्च हुने र बाँचेको पैसा राजाले स्विटजरल्यान्डको बैंकमा राखेको समेत भ्रम फिँजाएको लिङदेनले जानकारी गराए।

राजाले स्विटजरल्ल्यान्डको बैंकमा राखेको पैसा मात्रै फिर्ता ल्याए देशको हरेक नागरिकलाई चार पाँच बिघा जग्गा र पाँच तोला सुन पुग्छ भनेर जनतालाई एमाले, कांग्रेस माओवादीले भनेको उनको जिकिर थियो।

‘हामीले अलि अलि तिरेको तिरो सबै राजा र राजपरिवार पाल्न खर्च हुन्छ र उब्रेको अलिकति पैसा पनि स्विटजरल्यान्डको बैंकमा लगेर राखेको छ,’ उनले भने, ‘त्यसकारण यो राजा नहटाई हँुदै हँुदैन भनेर एमाले कांग्रेस र माओवादीले भन्थे र स्विटजरल्यान्डको बैंकमा रहेको पैसा मात्रै फिर्ता ल्याए यहाँको हरेक मान्छेलाई चार पाँच बिघा जग्गा र पाँच तोला सुन पुग्छ भन्ने बताउँथे।’

अहिले राजा नभएको १६÷१७ वर्ष भएको समयमा राजाले स्विटजरल्यान्डको बैंकमा जम्मा गरेको कति पैसा पिर्ता ल्याए भनेर एमाले कांग्रेस र माओवादीलाई लिङदेनले प्रश्न गरे। अहिले नेपालमा गणतन्त्र आएपछि नयाँ राजाहरूको नाममा ७० अर्बभन्दा बढी पैसा स्विटजरल्यान्डको बैंकमा जम्मा भएको भन्ने सुन्नमा आएको बताए।

‘राजाले स्विटजरल्यान्डको बैंकमा जम्मा गरेको कति पैसा पिर्ता आयो कसैले सुन्नुभएको छ,’ उनले भने, ‘अहिलेको गणतन्त्र आएपछि यो नयाँ राजाहरूको नाममा ७० अर्बभन्दा बढी रकम स्विटजरल्यान्डको बैंकमा जम्मा भएको छ भनेर सुन्नमा आएको छ।’

हिजो राजा महँगो हुन्छ राजा पाल्न नसकिने भन्ने गलत भनाइलाई अहिले राजाभन्दा राष्ट्रपति महँगो भएको कुराले प्रमाणित गरेको उनको दाबी थियो।

हरेक पाँच वर्षमा देशले एउटा राष्ट्रपति थप्दै जाने र पूर्व राष्ट्रपतिहरूलाई पाल्नका लागि समेत राज्यको ढुकुटी खर्चिनुपर्ने कुराले राजाभन्दा राष्ट्रपति कैयौं गुणा महँगो भएको लिङदेनको भनाइ थियो।

दलबाट जितेर गएका राष्ट्रपतिहरू जति पनि स्वतन्त्र भएको बताइए पनि पछि पार्टीकै पक्षमा काम गर्ने भएकाले राष्ट्रपति पनि निष्पक्ष नहुने उनको आरोप छ। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेकाहरूलाई लिङदेनले स्वागत गरेका थिए।



Share Your Thoughts