राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, कप्तान नवयुग भन्छन्– अनुभवी खेलाडीको अभाव खड्कियो


अगर बत्ती

Dharana    

access_time 17 Jun 2022

काठमाडौँ – कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ।

चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्।

तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद् नतिजा निकाल्न सकेन। सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको भने ।केही सिनियर खेलाडी बिना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको उनले बताए।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडीबिना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवी खेलाडीको अभाव महसुस भएको उनले बताए।

‘भइरहेका खेलाडी टिममा नपर्दा केही फरक त परिहाल्छ। नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे तर अनुभवी खेलाडी टोलीमा भएको प्रदर्शन अलि राम्रो हुन्थ्यो। कठीन समूहमा अटाएका हामीले अनुभवी खेलाडी भएको अवस्थामा नतिजा केही फरक हुने अनुमान गर्न सकिन्छ,’ उनले भने।

यस्तै नेपाली टोलीका सदस्य पुजन उपर्कोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए। उता ४० वर्षपछि नेपालले कुवेतविरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलिविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको भने ।छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा एक गोल फर्कायो। पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। फिफा वरियतामा नेपालमा भन्दा धेरै माथि रहेको कुवेतविरुद्ध नेपालले चार गोल खाँदा एक गोल इन्जुरी समयमा गोल फर्काएको थियो। उक्त गोल नेपालले कुवेतविरुद्ध करिब चार दशकपछि फर्काउन सफल भएको थियो। एकमात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए।

लगातार दुई खेलमा पराजयपश्चात एएफसी एसियन कपको सम्भावना टरेको नेपाली टोलीले अन्तिम खेलमा इन्डोनेसियासँग खेलेको थियो। उक्त खेलमा नियमिति कप्तान नवयुग श्रेष्ठको स्थानमा पुजन उपकोटीले कप्तानको जिम्मेवारी लिएका थिए। सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो। ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण सकाएको थियो।



Share Your Thoughts