काठमाडौं । ‘नाइटिङ्गेल नर्सिङ अवार्ड २०२२’ त्रिवि शिक्षण असपतालकी नर्स विमला श्रेष्ठले पाएकी छन्।
नर्सिङ पेशामा गरिरहेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस र मेड प्रो इन्टरनेशनल प्रा. लिले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गरेका हुन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाई ५१ हजार नगद राशीसहित पुरस्कृत गरिएको थियो। उनलाई समाजसेवी राधा पौडेलले पुरस्कार प्रदान गरेकी थिइन्।
श्रेष्ठले २०४४ सालदेखि शिक्षण अस्पतालबाट काम सुरु गरेकी हुन्। विगत २८ वर्षदेखि अस्पतालको आईसीयूमा कार्यरत उनी अहिले आईसीयू इन्चार्जका रुपमा कार्यरत छिन्।
श्रेष्ठले आफूले आएको उक्त रुपैयाँ निम्नस्तर भएका बिरामीका लागि खडा गरिएको आईसीयूमा स्थापना गरिएको कोषलाई हस्तान्तरण गर्ने बताएकी छन्।
उनले भनिन्,‘क्रिटिकल केयरमा भर्ना हुने गरिब बिरामीका लागी हामीले कोष बनाएका छौँ। मैले सम्मान पाएको रुपैयाँ त्यही कोषमा जम्मा गर्ने छु। यो रुपैयाँले बिरामीलाई केही राहत पुर्याउने विश्वास लिएकी छु।’
‘नाइटिङ्गेल नर्सिङ अवार्ड २०२२’ अवार्ड नेपालमा पहिलो पटक आयोजना गरिएको हो। अब आउँदा दिनमा यसलाई निरन्तरता दिने नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष डा। सुवासप्रसाद आचार्यले बताए।
यस्तै हेल्थ एट होमका सिईओ डा। विशाल ढकालका अनुसार यस्ता अवार्डले नर्सहरुलाई पेशाप्रति समर्पित हुन प्रेरणा मिल्ने छ।
नेपालमा आईसीयू सर्वसुलभ बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिरहन आवश्यक रहेको नेपाल भेन्टिलेटर सर्भिसका अध्यक्ष डा। निरञ्जन श्रेष्ठले जनाए।