सिमकोट – पिप्लाङदेखि चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य ठप्प भएको छ। चङ्खेली गाउँपालिका–४ को पाली र ५ को नेक्पा गाउँवासी विवादले सडक निर्माण प्रभावित भएको हो।
गाउँपालिका कार्य समितिका सदस्यसमेत रहेकी नेक्पा गाउँकी देउरुपा तामाङले पिप्लाङबाट खोलाको किनार हुँदै नेक्पा गाउँ सडक निर्माण गर्नुपर्ने माग स्थानीयको रहेको बताइन्।
उक्त खण्डबाट सडक निर्माण निर्माण नभए काम अगाडि बढ्न नसक्ने उनको भनाइ छ। तामाङले डीपीआरअनुसार सडक निर्माण गर्नुपर्ने माग गरिन्।
यता वडा नम्बर ४ को पाली गाउँका स्थानीयले सडक जनतालाई सेवा सहज बनाउन निर्माण हुनुपेर्ने भएकाले पाली गाउँ छोएर जानुपर्नेमा जोड दिँदै आएका छन्।
स्थानीयका अनुसार सडक नदी किनार जाँदा पनि पाली गाउँकै भूभाग छोएर जान्छ। दुवै गाउँवासीलाई गाउँपालिकाले बोलाएर छलफल गरे पनि सहमति हुन सकेको छैन।
हिल्सा सिमकोट सडक आयोजनाले दुई गाउँको विवादले सडक निर्माण कार्य रोकिएको जनाएको छ। विवाद मिलाउन आयोजनाका योजना प्रमुख निरजकुमार राजवंशी स्थलगत अनुगमनमा गएका छन्। सडक निर्माणका लागि आयोजनाले टेण्डर आह्वान गरेर निर्माण कम्पनीसमेत छनोट गरिसकेको छ।
निर्माण कम्पनीले विवाद नभए निर्माण कार्य धेरै अगाडि बढ्ने जनाएको छ। सो सडक निर्माण गर्न एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ।