कोरोना प्यान्डेमिकको वर्तमान अर्थात् पछिल्लो लहर, ओमिक्रोन लहर, हाल विश्वभरि केही शान्त हुँदै गएको छ। एक महिनाअघि विश्वमा दैनिक संक्रमण ४० लाखसम्म पुगेकामा हाल २० लाखभन्दा कम भइसकेको छ।
तैपनि, हालको विश्वको दैनिक संक्रमण यसभन्दा पहिलाका लहरभन्दा अझै दुई गुणाभन्दा धेरै छ। विश्वको दैनिक कोरोना मृत्यु भने हाल पनि त्यति घटिसकेको अवस्था छैन। केही हप्ता अघिसम्मसाढे १२ हजार पुगेको विश्वको दैनिक मृत्यु हाल पनि ८ देखि १० हजार हाराहारीमा देखापरिरहेको छ।
ब्राजिल, रसिया, फ्रान्स, जर्मनी, जापान, कोरिया लगायत देशमा दैनिक कोरोना संक्रमण र मृत्युदर निकै उच्च छ।
दक्षिण एसियाको कुरा गर्दा करिब एक महिना अघिसम्म ३७०००० भन्दा माथि पुगेको दैनिक संक्रमण हाल २००००–३०००० मा झरिसकेको छ।
त्यस्तै, १८०० नाघेको दैनिक मृत्यु हाल ३००–५०० मा झरेको छ। हालसम्मको विश्वको जम्मा कोरोना संक्रमणमध्ये दक्षिण एसियामा करिब ११.५% भेटिएको छ भने पछिल्लो समय विश्वको दैनिक संक्रमणको २–३% मात्रै यस क्षेत्रमा देखिने गरेको छ।
त्यस्तै, हालसम्मको विश्वको जम्मा कोरोना मृत्युमध्ये दक्षिण एसियामा करिब १०.६% भेटिएको छ भने पछिल्लो समय विश्वको दैनिक मृत्युको ६–७% यस क्षेत्रमा देखिने गरेको छ।
विश्वको कुल संख्यामध्ये दक्षिण एसियाको पछिल्लो दैनिक संक्रमण अनुपातभन्दा मृत्यु अनुपात धेरै हुनु केही दुःखपूर्ण छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा औसत दैनिक मृत्यु दर १.५% छ।
पछिल्लो औसत दैनिक कोरोना मृत्यु दर श्रीलंकामा सबैभन्दा धेरै करिब २.३% छ भने त्यसपछि क्रमशः भारतमा १.६९%, पाकिस्तानमा १.६४%, नेपालमा १.३% र बंगलादेशमा ०.६% छ। भुटान र माल्दिभ्समा मृत्यु दर निकै न्यून छ।
तर, दक्षिण एसियाभित्रै पनि कोरोना प्यान्डेमिकको स्थिति देशपिच्छे फरक देखिन्छ। दक्षिण एसियामा कोरोना संक्रमण र नियन्त्रण सबैभन्दा राम्रो देखिएको भुटानमा हाल संक्रमण निकै बढेको देखिन्छ।
त्यहाँ अघिल्लो लहरभन्दा वर्तमान लहर दसौं गुणा ठूलो भएको छ। अघिल्ला लहरमा अधिकतम ५० जति देखिएको त्यहाँको दैनिक संक्रमण हाल ५०० नाघेको छ।
त्यस्तै, कोरोना मृत्यु पनि हाल फाटफुट देखिन थालेको छ त्यहाँ। सन् २०२०को अन्त्यसम्म जम्मा एउटा कोरोना मृत्यु, त्यसपछिको डेल्टा लहरको अति घातक र ठूलो लहरको बेला एउटा र त्यसपछि अर्को एउटा मात्रै मृत्यु देखिएको भुटानमा पछिल्लो लहरमा तीन मृत्यु देखापरी त्यहाँ जम्मा मृत्यु ६ पुगेको छ।