सिद्धबाबा सुरूङमार्ग निर्माणको काम सुरू हुने


अगर बत्ती

Dharana    

access_time 24 Jan 2022

निर्माणका हिसाबले नेपालको दोस्रो सुरूङमार्ग सिद्धबाबा सुरूङमार्गको निर्माण आगामी महिना सुरू हुने भएको छ।   सिद्धार्थ राजमार्गको सबभन्दा जोखिम खण्डका रूपमा रहेको सिद्धबाबा खण्डमा सुरूङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ।  बर्सेनि पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरूङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) सौरभ बज्राचार्यले जनाए । 

ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ। त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्छ।  उनले भने, 'प्रक्रिया सबै टुंगाएर ठेक्कामा नै जान फागुन अन्तिमसम्ममा हुनसक्ने देखिएको छ।'   देशकै पहिलो सुरूङका रूपमा रहेको नागढुंगा सुरूङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो।

यो सुरूङको पहिलो उद्देश्य सिद्धबाबामा बर्सेनि हुने पहिराको जोखिम कम गर्नु नै रहेको सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए।  हरेक वर्ष सो स्थानमा आउने पहिराले यहाँबाट यात्रा गर्नेको मृत्यु हुने गरेकामा त्यसलाई कम गराउनु नै सुरूङको मुख्य लक्ष्य हो।   नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिराको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ।  सुरूङ दुई लेनको हुनेछ। यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारी साधनलाई सुरूङबाट पठाइने र साना र कम क्षमताको सवारी साधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ। 

ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारी साधन सुरूङबाटै जाने उनले बताए।  निर्माण हुन लागेका संरचनामध्ये सुरूङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ।  सरकारले यसका लागि रु १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ। यसको जम्मा लगानी भने निर्माण कम्पनीले कति रकममा कबोल गर्छन् त्यसैका आधारमा मात्रै यकिन हुने केन्द्रले जनाएको छ।  सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरूङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लाबासीलाई सुविधा पुग्नेछ।   

सुरूङ सम्पन्न भएर सञ्चालनमा आउँदा यहाँ हुनसक्ने सम्भावित दुर्घटना कम गराउनेसँगै सवारी साधनमा लाग्ने लागत कम हुने अपेक्षा गर्न सकिन्छ। गाडी खाल्डामा गुड्दा लाग्ने खर्च राम्रो सडकबन्दा कम हुने बज्राचार्यले बताए। त्यससँगै यहाँको पर्यटन क्षेत्रको प्रवर्द्धनमा यसले सहयोग पुर्‍याउन सक्नेछ। 

सिद्धबाबा मन्दिर अहिले पनि पर्यटकीय केन्द्रका रूपमा रहेकामा यातायातको सजिलो पहुँच हुँदा त्यो बढ्न सक्नेछ। पहिलो ‘रकसेड’ भएकाले त्यो पनि आकर्षक बन्न सक्ने उनले बताए।  उनले भने, 'यो ठाउँको सुन्दरता बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।'   सुरूङमार्ग र ‘रकसेड’ निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो।  सो डिजाइनका आधारमा निर्माण सुरू भएको पाँच वर्षमा संरचना निर्माण सकिनेछ। सुरूका तीन वर्षमा सुरूङ सकिने र बाँकी तीन वर्षमा ‘रकसेड’ सकिने उनले  जनाए।   

निर्माण हुन लागेको ‘रकसेड’ ले माथिबाट झर्ने ढुंगा  सकेसम्म झर्न नदिने र झर्दा पनि विस्तारै झार्ने काम गर्ने सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए। त्यहाँ पहिरो झरेमा त्यसले गर्ने क्षति कम गर्न सकिन्छ। यसअघि नै नागढुंगामा देशको पहिलो सुरूङमार्ग निर्माण सुरू भइसकेको छ र सम्भवतः यो नै पहिलो सम्पन्न हुने सुरूङमार्ग बन्नेछ।  नागढुंगा जापान सरकारको सहुलियत ऋणमा निर्माण भइरहेकामा सरकारको लगानीमा निर्माण हुने सिद्धबाबा पहिलो सुरूङ हुने बताइएको छ। 

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले वि.सं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेको थियो।  राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै चार किलोमिटर क्षेत्रलाई पहिराको अति जोखिमयुक्त मानेर सुरूङ बनाउने योजना अघि बढाइएको थियो। 

 बर्सेनि पहिराका कारण सडक अवरूद्ध हुँदा नागरिकले सास्ती भगिरहेका छन्। यस वर्ष सिद्धार्थ राजमार्गको पिपलडाँडामा असारको १ गते सडक अवरूद्ध बनेको थियो। असार २४ गते सो राजमार्गको सिद्धबाबा क्षेत्रसँगै झुम्सा, हिउडे खोला, कालीमाटी र पिपलडाँडामा पहिराले सडक अवरूद्ध बनेको थियो। RSS



Share Your Thoughts