काठमाडौँ – स्थानीय तहको चुनाव सार्ने उद्देश्यसहित सत्ता गठबन्धनमा आबद्ध दलहरुले कानुनका जानकारहरुसँग छलफल गरिरहेका छन्।
बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरुले चुनावबारे परामर्श गरेका हुन्।
स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने उल्लेख गरे पनि संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ।
गठबन्धनले कानुनले निर्धाण गरेको अवधिमा भन्दा पनि संविधानले दिएको ६ महिने अवधिलाई आधार बनाएर स्थानीय तहको चुनाव आउँदो वैशाखबाट सार्ने रणनीति अघि सारेको छ।
तीनै तहको चुनाव एकैपटक गर्ने उद्देश्यसहित आउँदो कात्तिक मंसिरमा चुनाव गर्ने योजना गठबन्धनले अघि सारको छ। उक्त राजनीतिक प्रस्तावबारे दलहरुले कानुनका जानकारहरुलाई प्रधानमन्त्री निवासमा बोलाएर राय लिइरहेका हुन्।