मुस्ताङमा कोरोना खोपको‘बुस्टर’डोज लगाउन सुरु


अगर बत्ती

Dharana    

access_time 22 Jan 2022

जोमसोम / हिमाली जिल्ला मुस्ताङमा शनिबारदेखि ‘बुस्टर खोप' सुरु गरिएको छ। कोभिसिल्ड र भेरोसेलको दोश्रो मात्रा लगाएको ६ महिना पूरा गरेका नागरिकका लागि कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। 

६ महिनाअघि कोरोनाविरुद्धको खोप लगाइसकेकाको रोग प्रतिरोधात्मक क्षमता क्रमशः कम हुँदै जाने हुँदा सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप अभियानलाई तीव्रता दिएको हो। यसका लागि कोभिसिल्ड २ हजार र भेरोसेल ७ सय डोज स्वास्थ्य कार्यालयलाई उपलब्ध भएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले जानकारी दिए। 

उनका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालवालिकालाई मोर्डना खोप लगाइएकोमा दोश्रो डोजका लागि ७ सय डोज मोर्डना खोप जिल्लामा आएको छ। स्वास्थ्य प्रमुख भण्डारीले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा माघ १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइसक्ने कार्यक्रम रहेको जानकारी दिए। 

मुस्ताङका अधिकांश नागरिकले कोभिसिल्ड,भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन्। तर, विभिन्न कारणवश यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहुँचमा जोडिने भएको छ। मुस्ताङमा थासाङ गाउँपालिकाबाट बुस्टर खोप अभियान सुरु गरिएको हो।  थासाङका स्वास्थ्य संयोजक सिताराम कार्कीले थासाङ—३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट बुस्टर खोप लगाउन सुरु गरिएको बताए। थासाङको लेतेबाट सुरु गरिएको बुस्टर खोप अभियान क्रमशः अन्य वडाहरुमा पालैपालो लगाइने उनले बताए। 

मुस्ताङको माइनस १५ डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक रुपमा सहभागी भएको उनले उल्लेख गरे। उनका अनुसार गत पुस ६ गते मोर्डना खोप लगाएका बालबालिकालाई बिहीबार र शुक्रबार मोर्डनाको दोश्रो डोज खोप लगाइएको जानकारी दिए। यसअघि खोप लगाउन छुटेकालाई पनि बुस्टर खोप अभियानसँगै खोपको पहुँचमा जोडिने जनाए।

जिल्लाका तीन स्थानीय तहका १२ वर्षदेखि १८ वर्षमुनिका ७ सय ३७ जना बालवालिकाले मोर्डनाको पहिलो डोज खोप लगाएका थिए। तर, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बालबालिकाले भने मार्डना खोप लगाउने मौका पाएनन्। हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बेसी झरेकाले त्यहाँ मोर्डना खोप अभियान प्रभावित बनेको हो। त्यहाँ गर्मीयाम सुरु भइ स्थानीय नागरिक गाउँ फर्किपछि खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। 

यस्तै, मुस्ताङको तीन स्थानीय तहमा कोरोनाविरुद्धको अतिरिक्त खोप बुस्टर लगाइने कार्यक्रम रहे पनि उपल्लो मुस्ताङको दुई स्थानीय तहमा बुस्टर खोप लगाउने कार्यक्रम रहेको छैन।



Share Your Thoughts