भक्तपुरको हनुमानघाटमा माधवनारायण व्रत


अगर बत्ती

Dharana    

access_time 22 Jan 2022

भक्तपुर – कोरोना भाइरस संक्रमणको महामारीबीच भक्तपुरको हनुमानघाटमा एक महिने श्रीस्वस्थानी एवं माधवनारायणको व्रत सञ्चालन भएको छ।

भक्तपुरको माधवनारायणको व्रत मल्ल राजकुमारहरुले समेत बसेको ऐतिहासिक प्रमाण रहेको छ। भक्तपुरको माधवनारायण व्रत काठमाडौँको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ। 

हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत बस्ने गर्छन्। जसअनुसार भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक हनुमानघाट तीर्थस्थलमा यो एकमहिने कठिन व्रत बस्ने प्रचलन रहँदै आएको छ। 

हनुमानघाटमा दक्षिण पूर्वबाट भद्रा र उत्तर पूर्वबाट बीरा (तब्या खुसी) नामका दुई खोला बग्दै आएको संगम हो। यहाँ जमिन मुनिबाट तमसा नदी उत्पत्ति भएको विश्वास गरिन्छ। यसरी भद्रा, बीरा र तमसा गरी तीन नदीको संगमस्थल त्रिवेणीको रुपमा हनुमानघाटलाई लिइन्छ।  यही पवित्र धार्मिक, साँस्कृतिक तीर्थको रुपमा रहेको त्रिवेणी हनुमानघाटमा करिब ६ सय वर्षअघि माधवनारायणको व्रत बस्न थालिएको संस्कृतिविद्हरु बताउँछन्। उनीहरुका अनुसार माधवनारायण व्रतबारे मल्ल राजा जयस्थिति मल्लपछि उनका छोराहरु धर्म मल्ल, ज्योति मल्लको संयुक्त शासनकालमा नेसं ५२८ मा भक्तपुर वाकुपति नारायणको गरुडस्तम्भमा स्पष्टसँग उल्लेख गरिएको छ। 

उक्त स्तम्भमा उल्लेखित ‘माघ व्रत गोष्ठी’ तत्कालीन समयमा माघ महिनाभरि माधवनारायणको व्रत बस्ने, भजन गर्ने जस्ता विविध सांस्कृतिक मेला भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्। उनका अनुसार त्यसबेला माघ व्रत गोष्ठी सञ्चालन गर्न गुठीको व्यवस्था गरिएको थियो। संस्कृतिकर्मी धौभडेलले नेसं ७२२ देखि हनुमानघाटमा अझ व्यवस्थित रुपमा माधवनारायण व्रत चलेको देखिएको जानकारी दिए। 

उक्त समयमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको पालामा उनका छोरा अजितसिंह मल्लको अगुवाइमा हनुमानघाटमा माधवनारायण व्रत सञ्चालन भएको इतिहास पाइएको उनले स्पष्ट पारे। 

‘मल्ल कालमा राजकीय तहबाटै हनुमानघाटमा हुने माधवनारायण व्रतको तयारी हुन्थ्यो’, उनले भने, ‘तर अहिले यसबारे थोरैले मात्रै चासो लिएको पाइन्छ।’  संस्कृतिकर्मी धौभडेलका अनुसार साँखुको माधवनारायण व्रतभन्दा भक्तपुर हनुमानघाटको व्रत अत्यन्त कठोर मानिन्छ। यहाँ व्रत बस्नेहरुले व्रतअवधिभर अरुलाई छुन नहुने जनविश्वास रहेको छ। त्यस्तै बाटोमा हिँड्दासमेत व्रतालुले अरुको छायाँ पर्न दिन नहुने प्रचलन रहेको उनले बताए।



Share Your Thoughts