हाँस्ने दिन पर्खेका मुहारहरू


अगर बत्ती

Dharana    

access_time 22 Jan 2022

जुम्ला । जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर वा विमान चढेर नेपालगन्ज पुगेपछि मात्र गाडी देख्ने अवस्थाबाट गुज्रिरहेका जुम्लीका लागि आफ्नै आँगनमुनिबाट हर्न बजाउँदै गाडी कुदेको देख्नु सपनै जस्तो थियो, एक प्रकारले ।

जुम्लाको तिला–९ खोप्रीका स्थानीय टेकेन्द्र बुढा आफ्नो बाबु (बुबा)सँग २०६३ वैशाखमा विद्यालयका पोसाक र शैक्षिक सामग्री किनमेल गर्न खलंगा पुगे । त्यतिबेला उनी नौ वर्षका थिए । जुम्लाको सडकमा गाडी गुडेको देख्ने खोप्रीका पहिलो बालक थिए उनी । उनी घर फर्कंदै गर्दा उनको मनमा एउटा जिज्ञासा उत्पन्न भयो, मेरो गाउँमा पनि मोटर बाटो पुग्छ कि पुग्दैन ।’

सदरमुकामबाट झन्डै ६ घण्टाको पैदल यात्रापछि टेकेन्द्रको गाउँ खोप्रीमा पुगिन्छ । उनका बाबुले नुन, चामल बोके र टेकेन्द्रले आफ्नो झोला सम्हाले । तातोपानी गाउँपालिका–७ सर्मी गाउँबाट हिँड्दै गर्दा शिरको टोपी खस्ने उकालोमा बाबुको पिठ्युँमा बडेमानको भारी हेर्दै प्रश्न गरे, ‘बुबा, हाम्रो गाउँमा कहिले मोटर बाटो पुग्छ ? निधारमा नाम्लो कहिले छुट्छ, अनि गाउँमा गाडी कहिले आउछ ?’

उनका बाबुले जवाफ दिए, ‘आउँछ छोरा, आउँछ, हाम्रो पनि पालो आउँछ ।’ अहिले टेकेन्द्र २५ वर्षका भए । तर, उनको गाउँमा मोटरबाटो पुगेको छैन ।

जुम्ला सडक सञ्जालमा जोडिएको १६ वर्ष पूरा भयो तर जुम्लाको तिला गाउँपालिकाका दर्जनौं गाउँमा गाडी पुगेको छैन । अहिले पनि किसानका कृषिजन्य उत्पादन कुहिएर खेर जाने गरेका छन् । विगत सम्झँदै टेकेन्द्रले राजधानीसँग भने, ‘पर्खेरै बिते कैयौं हिउँद र वर्षा, सडक बनेन, अहिले पनि एकाबिहानै उठेर खाद्यान्न बोकेर त्यही उकालो चढेर राति घर पुग्नुपर्छ ।’

अभावै अभावमा खोप्रीवासीको जनजीवन गुज्रिरहेको छ । आफंैले चुनेका जनप्रतिनिधि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदाइ हुँदै छन् । तर, गाउँमा खानेपानी, सडक, विद्युत्, सञ्चारलगायतका कुनै पनि सुविधा नहुँदा सास्ती छ । ‘अहिले त आश पनि मारिसक्यौं, हामीलाई अभाव र दुःखले कहिल्यै छाडेन,’ स्थानीय कालीबहादुर रावतले भने ।

अहिले तातोपानी ७ सुर्कीको कंयरकोटबाट सडक खन्न सुरु गरिएको छ तर थोरै खनेर अलपत्र अवस्थामा छ । स्थानीय मुनादेवी बोहोराले राजधानीसँग कुराकानी गर्दै खोप्री गाउँको पिडा ठाडीभाकामार्फत यसरी बताइन् ।

बत्ती छैन, पानी छैन, कसरी बाँच्न्या हो ।
जतिबेला सुख होला त्यैबेला हाँस्न्या हो ।

उनको गीतमा भनिएजस्तै यहाँका नागरिक हाँस्ने दिन पर्खेर बसेका छन् । चारैतिर दुःख, वेदना र अभावले उनीहरूको मुहारमा हाँसो हराएको छ । २१औं शताब्दीमा पनि आदिमकालको जीवन बिताइरहेका छन् उनीहरू । भौतिक विकासमा पछि परेको खोप्री गाउँ प्राकृतिक स्रोतको भने धनी छ । पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको छ, खोप्री गाउँले । गाउँ छेवैमा पौने २ सय मिटरको नदै गुफा छ ।

प्राकृतिक सुरुङ मार्गजस्तो यो गुफामा एक ठाउँबाट हिँडेर अर्को ठाउँमा निस्कन सकिन्छ । गुफाभित्र गौथलीका गुँड छन्, गाईको थुनजस्ता आकृतिबाट तप्पतप्प पानी चुहिन्छ । गुफाभित्र विभिन्न देवीदेवताका आकृति पनि छन् । ढुंगाहरूमा हिर्काउँदा मादल बजाएजस्तो आवाज आउँछ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने स्थानीय लालबहादुर थापाले बताए ।

तिलाका माथि खोप्री, तल खोप्री, ढिपु, मालापानी, राँसा, जुम्लाकोट, सुँडी, पोख्रीलगायतका गाउँमा सवारी सुविधा छैन । दिनभर विकास निर्माणका सामग्री पिठ्युँमा बोकेर लानुपर्ने बाध्यता रहेको तिला–६ ढिपुकी सम्झना बोहोराले बताइन् ।

जुम्लाकै विकट मानिने तिला गाउँपालिकाको जटिल भूगोलका कारण विकासले फड्को मार्न नसकेको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् । जुम्लाको राँसा, मालापानी, खोप्रीलगायतका गाउँमा यो आर्थिक वर्षमा बाटो पु¥याउने लक्ष्य रहेको उनले बताइन् ।

जुम्लाकोट क्षेत्रमा सडक बने पनि तिला नदीमाथि पुल नबन्दा गाडी गुड्न पाएका छैनन् । ‘खोप्रीमा बाटो खन्न सुरु भएको छ, १३ करोड रुपैयाँमा जुम्लाकोट जोड्ने पुल निर्माणका लागि टेन्डर पनि भइसकेको छ,’ उनले भनिन् ।

छरिएर रहेका बस्तीमा विकासका पूर्वाधार निर्माण गर्न कठिनाइ भएता पनि क्रमशः जनताका आवश्यकता परिपूर्ति गर्न सचेत रूपमा लागेको उपाध्यक्ष बुढाको भनाइ छ ।



Share Your Thoughts