काठमाडौं । लागुऔषध कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा एक मोबाइल पसलमा छापा हान्न गएको प्रहरी टोलीले नै मोबाइल चोरी गरेको सिसी टिभी फुटेज बाहिरिएको छ।
मोबाइल चोरी गर्दै गरेको सिसी टिभी फुटेज बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीमा संलग्न रहेको आरोप लागेका दुई प्रहरीलाई नियन्त्रणा लिएर अनुसन्धान सुरु गरेको छ। कैलालीका एसपी विश्वराज अधिकारीका अनुसार चोरीको आरोपमा पक्राउ पर्नेमा प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतसिंह बुडाल छन्। चोरीको कसुरमा उनीहरुलाई म्याद थप गर्न जिल्ला अदालत पठाइएको एसपी अधिकारीले बताए।
घटना गत बुधबारको हो। धनगढीस्थित ट्राफिक चोकको ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषध कारोबार हुने गरेको सूचना आएपछि प्रहरीको टोलीले छापा हान्न गएको थियो। त्यसबेला प्रहरीले लागुऔषध खैरोहेराइनसहित तीन जनालाई पक्राउ पनि गरेको थियो। तर छापा हान्न गएका मध्ये हवल्दार हमाल र जवान बुडालले भने उक्त ग्यालरीमा रहेको मोबाइल चोरी गरेर खल्तीमा हालेका थिए। मोबाइलमा जडान गरिएको सिसी क्यामेरामा मोबाइल चोरी गर्दै गरेको सिसी टिभी फुटेज देखिएपछि सञ्चालकले नै सिसी टिभी फुटेज सार्वजनिक गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको हो।