'अनलाइन क्यासिनो' चलाएको आरोपमा कीर्तिपुरबाट १२ जना पक्राउ


अगर बत्ती

Dharana    

access_time 20 Jan 2022

'अनलाइन क्यासिनो' चलाएको आरोपमा प्रहरीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले अनलाइन जुवा तथा क्यासिनो चलाएको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए। 

प्रहरीले कीर्तिपुरका चोभारसहित तीन ठाउँबाट १२ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा तीन जना सञ्चालक समेत रहेको एसएसपी कुँवरले बताए। बाँकी कर्मचारीहरू छन्।

‘अनलाइन जुवा र क्यासिनो चलाउने व्यक्तिहरू हुन्। तीन ठाउँबाट तीन जना सञ्चालकसहित कर्मचारीहरू पक्राउ गरेका छौं,’ उनले भने। 

उनीहरूले अनलाइनमार्फत् विभिन्न गेमहरू खेलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

एक एपमार्फत् उनीहरूले सो अनलाइन क्यासिनो सञ्चालन गरिरहेको पाइएको हो। 

उनीहरूले सञ्चालन गरेको अनलाइन गेममा कम्तीमा पनि १० डलर वा सोभन्दा माथिको रकम हाल्नुपर्ने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। 

पक्राउ परेका व्यक्तिहरू सबै नेपाली रहेको महाशाखाले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ। महाशाखाले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ। 




Share Your Thoughts