काठमाडौँ– पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।
सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन्। दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ।
पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन्।
यस एकहप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ। पुुुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर मंगलबार ३९ हजार ४४ पुगेको छ। पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।