प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने


अगर बत्ती

Dharana    

access_time 18 Jan 2022

काठमाडौँ- प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोडीले ओपनिङ गरेको थियो । यो जोडीले पहिलो विकेटका लागि १५० रनको सानदार साझेदारी गरेको थियो । आक्रामक ब्याटिङ गरेका आशिफ ८४ रन बनाएर पभेलियन फर्किए ।

उनले ४३ बलमा ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । यसैगरी टिमको स्कोर १६२ रन हुँदा एपीएफका कप्तान शरद भेषावकर दोस्रो विकेटको रुपमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका लोकेश बमले पनि उत्कृष्ट पारि खेले । १८ बल खेलेका लोकेशले ६५ रनको नटआउट पारि खेलेपछि एपीएफको स्कोर २३० रन पुगेको थियो ।

लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी ओपनिङ आएका ऐरी ५७ रनको नटआउट पारि खेले । उनले ५३ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे । सुमित श्रेष्ठ र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

जवाफमा आर्मी क्लव २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८३ रनमा रोकियो । राम्रो सुरुवात गरेपछि उसका मध्यक्रमका खेलाडी सस्तैमा आउट हुँदा हार्न पुग्यो ।

यस्तै आज भएको पहिलो खेलमा पुलिसको दिएको १५६ रनको लक्ष्य पच्छ्याएको बागमती प्रदेश ८ विकेट गुमाएर १०५ रनमा रोकिए पछि पुलिस ५० रनले विजयी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो ।

पुलिसका लागि पवन शर्राफले अर्धशतकीय पारि खेले । उनले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५९ रन बनाएका थिए । ओपनिङ आएका शंकर राना ८ रन बनाएर आउट हुँदा पुलिसले २७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नै नखोली आउट हुन पुगे ।

२७ रनमै दोस्रो विकेट गुमाएको पुलिसको पारिलाई पवन र अनिल साहले अघि बढाएका थिए । तेस्रो विकेटको रुपमा अनिल आउट हुँदा पुलिसको स्कोर १०५ रन भएको थियो । १५.१ ओभरमा अनिल व्यक्तिगत २५ रन बनाएर पभेलियन फर्किएका थिए ।



Share Your Thoughts