कालापानी भूभाग नेपालकै भएको दाबी गर्छन् भारतका पत्रकार


अगर बत्ती

Dharana    

access_time 14 Jan 2022

काठमाडौ  /  नेपालको पश्चिमी भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने कुरा भारतका सचेत नागरिकहरु सबैलाई थाहा भैसक्यो । तर यी भूभागमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेरेको छैन । तर केही समय यता  नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच भारतका एक  वरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नु भएको छ ।

भारतीय टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवादमा उहाँले यस्तो दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो -कालापानी नेपालको हिस्सा हो ।

सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्रसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि उहाँले गर्नुभएको छ ।

उहाँका अनुसार अहिले नेपाल चीनतर्फ ढल्किरहेको अनुमान भारतले गरिरहेको छ । भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागिसमेत चीनतर्फ ढल्किन सक्ने कुरामा सचेत रहन भारत सरकारलाई सुझाव दिनु भएको छ । अन्य तमाम भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिंदै आएका छन् ।



Share Your Thoughts