काजाकिस्तानमा रुसले पठायो शान्ति सेना


अगर बत्ती

Dharana    

access_time 07 Jan 2022

काठमाडौं- रुसले मध्य एसियाली राष्ट्र काजाकिस्तानमा आफ्नो शान्ति सेना पठाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले सोभियत संघको पूर्वघटक राष्ट्र र सैन्य साझेदार काजाकिस्तानमा हिंसात्मक अशान्ति रोक्न आफ्नो शान्ति सेना पठाएको हो।  काजाकिस्तानले इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेयताकै सबैभन्दा ठूलो विरोधको सामना गरिरहेको छ।     

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त विरोध प्रदर्शनका क्रममा एक हजारभन्दा बढी घाइते भएका छन्। ‘काजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ,’ उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले न्यूज २४ टेलिभिजनमा भने।  यसअघि काजाकिस्तानको प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा धेरै प्रदर्शनकारीहरूलाई लखेटेको बताएको थियो। यता, काजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले यी प्रदर्शनहरूको लागि विदेशमा तालिम प्राप्त समूहहरूलाई दोष दिएका छन्।  राष्ट्रपति तोकायेभले हिंसात्मक दंगा रोक्न सामूहिक सुरक्षा सन्धि संगठन  (सीएसटीओ)लाई हस्तक्षेप गर्न अपील गरेका छन्।     

सीएसटीओ रूस, आर्मेनिया, बेलारुस, काजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तानको सैन्य गठबन्धन हो। रोयटर्सले बिहीबार धेरै सशस्त्र गाडी र ठूलो संख्यामा सशस्त्र सैनिक अल्माटीको मुख्य चोकमा प्रवेश गरेको बताएको छ।  यस ठाउँमा तीन दिनसम्म सरकार विरोधी प्रदर्शन भइरहेको थियो। त्यहाँ गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, अहिले अवस्था नियन्त्रणमा रहेको बताइएको छ।  यद्यपि, काजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनमा आक्रमण गर्न खोज्दा दर्जनौं प्रदर्शनकारी मारिएको जनाएको छ ।   

आन्दोलनकारीले रातको समयमा सरकारी प्रशासनिक भवन, अल्माटी शहरको प्रहरी विभाग, स्थानीय प्रहरी चौकीलगायतमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीलाई मारिएको प्रहरी प्रवक्ता साल्टनाट बताए।   इन्धनको मूल्य निर्धारण काजकिस्तानमा बिहीबार इन्धनको मूल्य निर्धारण गरिएको छ। इन्धनको मूल्यवृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले नयाँ मूल्य निर्धारण गरेको हो।   अहिले निर्धारण गरिएको इन्धनको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् । कुल एक करोड ९० लाखभन्दा बढी जनसङ्ख्या भएको काजकिस्तानमा छोटो अवधिमा ठूलो आन्दोलन भएको छ ।  आन्दोलनकारीहरुले इन्धनको मूल्यवृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको बताउँदै आएका छन्।



Share Your Thoughts