ढकालसहित पाँचजना विरुद्ध झन्डै साढे दुई अर्बको मुद्दा


अगर बत्ती

Dharana    

access_time 05 Jan 2022

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य अभियुक्त तथा आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकालसहित पाँच जनाविरुद्ध झन्डै साढे २ अर्ब रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले आनसान इन्टरनेसनल प्रालिका सञ्चालक ढकालसहित पाँच जनाविरुद्ध मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

आनसानका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ, अडिट फर्मवाला राजेश्वर एन्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

शोभाकान्त ढकाल यसअघि नै बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा मुछिएका मुख्य व्यक्ति हुन् । विशेष अदालतको आदेशमा थुनामा परेका ढकाल अझै थुनामै छन ।

ढकालसहित पाँच जनाविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बिगो र सोहीबराबरको जरिमाना गरी कुल २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्न र तीन वर्ष जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धिकरतर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१ रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ राजस्व छलेका थिए ।

उनीहरूको सो फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण बनाएर कारोबार नै नभएको देखाई (कारोबार शून्य देखाई) प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको विभागको आरोप छ ।

विभागका अनुसार शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल एउटै परिवारका सदस्य तथा एउटै कम्पनीका सञ्चालक हुन् । सोही कम्पनीको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एन्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध पनि राजस्व छलीको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।



Share Your Thoughts