सिमकोट– स्थानीयस्तरमै दुध उत्पादन गरेर बिक्री गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिइने भएको छ। दुध उत्पादन बृद्धि गर्ने किसानलाई प्रोत्साहित गर्न यो अनुदानको व्यवस्था गर्न लागिएको हो।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बहादुर बुढथापाले पहिलो पटक स्थानीय स्तरमा दुध उत्पादन गरेर बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप नगद अनुदान दिन लागिएको बताए।
दुध उत्पादनको सम्भावना भएर पनि न्यून मात्रामा दुध तथा दुधजन्य बस्तु उत्पादन हुने गरेको कारण यो व्यवस्था गर्न लागिएको बताउँदै उनले हाल दुध बिक्री गरिरहेका किसानलाई प्रोत्साहन हुने बताए।
हुम्लामा बर्खायाममा दुध केही मात्रामा पाउने हिउँदमा भने दुध अभाव हुन्छ। किसानलाई आर्थिक सहयोग पुर्याउन र गाईभैंसीपालन व्यवसायमा आर्कषित गर्न यो व्यवस्था कर्णाली प्रदेश सरकारको कार्यक्रमबाट गर्न लागिएको हो। यसका लागि दुध उत्पादन गर्ने किसानहरुले कार्यक्रमबाट प्रतिलिटर दश रुपियाँ प्रोत्साहन अनुदान पाउनेछन्।
यसका लागि दुध उत्पादन गर्ने आधिकारिता पेश गर्ने जिल्लाभरिका सबै किसानले प्रोत्साहन अनुदाउन पाउने छन्। यसरी जिल्लामा दुध तथा दुग्धजन्य वस्तु उत्पादन गर्ने किसानहरुले पहिलो पटक अनुदान पाउन लागेका हुन्।