भूकम्पमा भत्केको काष्ठमण्डप फेरि ठडियो


अगर बत्ती

Dharana    

access_time 03 Dec 2021

काठमाडौँ / ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ।

काष्ठमण्डप पुनर्निर्माण समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो। २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले बताए।

अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रूखको काठबाट बनेको भन्न मिल्दैन। उनले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताए। उनलले अब चाँडै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताए।

‘काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बार मात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको चासोको विषय हो,’ उनले भने, ‘हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौँ शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकाले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो।

चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको उनले बताए।

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुंगा, माटो, इँटा, तामालगायत सामग्री प्रयोग गरिएको बताए।

उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताए। ०७७।७८ मा यस वर्ष काष्ठमण्डप पुनर्निर्माणमा ३ करोड ५६ लाख ६१ हजार १ सय २४ रपैयाँ ६० पैसा आम्दानी भएको छ भने गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा अनुदान प्राप्त भएको थियो।

त्यस्तै, खर्चमा भने प्रशासनिक खर्चतर्फ यस वर्ष १८ लाख ८३ हजार ९६७ रुपैयाँ ०७ पैसा र गत वर्ष १५ लाख ४८ हजार ८४९ रुपैयाँ २१ पैसा खर्च भएको थियो। त्यस्तै निर्माण खर्च यस वर्ष ३ करोड ३७ लाख ७७ हजार १५७ रुपैयाँ ५३ पैसा खर्च भएको छ भने गत वर्ष ३ करोड ३७ लाख ३२ हजार १८८ रुपैयाँ ४३ पैसा खर्च भएको थियो।

जम्मा खर्च गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १२४ रुपैयाँ ६० पैसा खर्च भएको समितिले जनाएको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा ११ करोड ३९ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष शाक्यले बताए।



Share Your Thoughts