आजदेखि औपचारिक रूपमा जनगणना सकियाे


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

काठमाडाैं । गत कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।  आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उनको भनाइ छ ।  भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उनले बताए । भोलिसम्ममा सबै गनेर सकिने उनले दाबी गरे । 

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् ।

एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।  तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् ।   



Share Your Thoughts