गोरखा नपामा फोहर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई


अगर बत्ती

Dharana    

access_time 10 Nov 2021

गोरखा । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ। नगरपालिकाले फोहर संकलन  तथा व्यवस्थापन गर्नेलगायत कामको जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो। नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए।     

नगरपालिकाका वातावरण अधिकृत धु्रव घिमिरेले निजी क्षेत्रसँग सम्झौता गरी यही कात्तिक १६ गतेदेखि फोहर उठाउने सबै जिम्मेवारी दिएको उनले जानकारी दिए।   सो कम्पनीले नगरपालिकामा २ लाख धरौटी राखेर फोहर संकलन सुरु गरिसकेको छ। नगरपालिकाले प्रयोग गर्दै आएको फोहर उठाउने एउटा ट्र्याक्टर र टिपरसमेत एक वर्षका लागि सो कम्पनीलाई प्रयोग गर्न दिने र एक वर्षपछि भने उसले नगरपालिकाले निर्धारण गरेअनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको छ। कम्पनीले नगरपालिकाको मापदण्डभित्रै रहेर नगरवासीसँग फोहर व्यवस्थापनका लागि शुल्क लिने बताइएको छ।नगरपालिकाले कम्पनीसँग पाँच वर्षका लागि फोहर व्यवस्थापन गर्ने गरी सम्झौता गरेको हो।      कम्पनीले फोहर व्यवस्थापनका काम सुरु गरेसँगै नगर क्षेत्रलाई सरसफाइमा नेपालको उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले आफ्नो घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याइ कर्मचारीलाई सहयोग गरिदिन पनि नगरवासीलाई अनुरोध गरेको छ। फोहर व्यवस्थापन शुल्कवापत नगरवासीले सदस्यता शुल्क रु २०० तिर्नुपर्ने र निजी तथा व्यक्तिगत प्रयोजनको घर÷प्रतिपरिवार मासिक रु १००, चिया पसल फुटपाथ पसलले रु १५०, व्यावसायिक पसल प्रत्येक सटर, वित्तीय सङ्घसंस्थाले रु २००, रेष्टुरेन्ट, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्यूटीपार्लरले रु ३०० शुल्क बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ। 

यसबाहेक मोटरसाइकल ग्यारेज, लजसहितको सामान्य होटल, क्लिनिकको समान्य फोहर भएकाहरुले मासिक रु ५००, गाडी ग्यारेज, लजसहितका ठूला होटलले मासिक रु एक हजार र हस्पिटल, नर्सिङहोमले मासिक रु दुई हजार शुल्क बुझाउनुपर्ने उल्लेख छ।     

घरबाट निस्कने कवाडी सामग्रीसमेत उचित मूल्य दिएर कम्पनीले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्री वितरण नगर्नसमेत आग्रह गरेको छ। यसअघि नगरपालिका आफैंले नगर क्षेत्रभित्रको फोहर व्यवस्थापन गर्दै आएको थियो। RSS



Share Your Thoughts