तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री


अगर बत्ती

Dharana    

access_time 05 Nov 2021

काठमाडौँ  / यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए । 

 तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।     

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको थियो । त्यसयता टक्सार कार्यालय सुन्धाराबाट बबरमहल स्थानान्तरण भएको र निषेधाज्ञाका कारण थप सिक्का छपाइ भएको छैन । २०७६/७७ मै छापेका सिक्का गत वर्ष र यो वर्ष बिक्री गरिएको हो ।  ‘सुन र चाँदीका केही थान सिक्का अझै स्टकमा छन्,’ टक्सार विभाग प्रमुख आचार्यले भने, ‘तिहारपछि भने नियमित रूपमा नयाँ सिक्का छाप्ने तयारी छ ।’  तीमध्ये १५ हजार थान गत दुई आर्थिक वर्षमा विक्री भइसक्यो । बाँकी रकम यो वर्षको तिहारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।   

बैंकहरूले गरे लक्ष्मीपूजा विगतका वर्षमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्थाले भव्य रूपमा लक्ष्मीपूजा गरेका छन् । राष्ट्र बैंकले मुद्रा, बैंकिङ र टक्सार विभागमा विधिवत् रूपमा लक्ष्मीपूजा गरेको छ । बैंक तथा वित्तीय संस्थाले पनि मुख्य कार्यालयसहित हरेक शाखा–उपशाखामा पनि लक्ष्मीपूजा गरेका छन् । 

तिहारका प्रमुख पाँच दिनमध्ये लक्ष्मी पूजा बैंक तथा वित्तीय संस्था लगायत वित्तीय कारोबार गर्ने संघसंस्थाका लागि विशेष मानिन्छ । तिहारमा धनसम्पत्तिकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ । लक्ष्मीलाई प्रशन्न गराउन सके लक्ष्मी खुसी हुन्छिन् र प्रशस्त धनसम्पत्तिको वरदान पाइन्छ भन्ने मान्यता छ । यही आधारमा बैंक तथा वित्तीय संस्थाले पनि धुमधामसाथ लक्ष्मीपूजा गर्दै आएका छन् । 

सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कात्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु हिन्दु धर्मालम्बीहरूको धार्मिक मान्यता हो । दीपावलीमा ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष पाइन्छ भन्ने विश्वास छ । बैंकिङ धन (पैसा) को व्यवसाय हो । यसकारण बैंक तथा वित्तीय संस्थाले लक्ष्मी पुँजीलाई धेरै प्राथमिकता दिएका हुन् । तिहारमा गरिने लक्ष्मीपूजाकै लागि बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष बजेट छुट्टयाउँछन् । र भव्यताका साथ लक्ष्मीपूजा गरी आर्थिक समृद्धिको कामना गर्छन् । 

लक्ष्मीपूजामा देवी लक्ष्मीको पूजाअर्चना गरिन्छ । सुन, चाँदी, रुपैयाँ, पैसा तामाका भाँडाकुँडाको पूजा गरी घर घरमा दीपावली गरिन्छ । झ्यालढोकामा माला र झिलीमिली बत्तीले सजिसजाउ पारिन्छ । सजाइएका पित्तल वा तामाका गाग्रीमा पानी भरेर माला लगाई खड्कुलामा चामल राखी विधिपूर्वक लक्ष्मीपूजा गरिन्छ ।



Share Your Thoughts