खसीबाेका बेचेरै लाखाैँ कमाइ


अगर बत्ती

Dharana    

access_time 30 Oct 2021

दाङ / देउखुरीको अमेलियाकी देवीमाया थापा उमेरले असी वर्षकाे हुनै लाग्नु भयो । तर उहाँको काम गराइ हेर्दा कुनै युवाको भन्दा कम छैन । उहाँले आफैँ पनि बाख्रा पाल्नु भएको छ । अमेलिया र छेउछाउका बस्तीमा बस्ने प्राय सबैले धेरै थोरै बाख्रा पाल्ने उनीहरुको पुर्ख्यौली पेसा जस्तै थियो ।

नजिक चरण र घाँसपातका लागि अभाव छैन । घरका मान्छे व्यस्त पनि हुने र केही कमाइ पनि भइहाल्ने भएकाले यहाँका धेरैले बाख्रा पाल्छन् । तर पछिल्लो ५ वर्षयता उनीहरुले बाख्रा पालनलाई व्यावसायिक रुपमै अघि बढाएका छन् । प्राय सबैका गोठमा दश पन्ध्रदेखि एक सय वटासम्म बाख्रा छन्। 

व्यवस्थित ढङ्गले बाख्रा पाल्दा किसानलाई सहयोग पनि भएको छ । अहिले त्यहाँका महिलाहरुको मुख्य आम्दानीको स्रोत नै बाख्रा पालन व्यवसाय भएको छ । 'बाख्रा पालन व्यवसाय महिलाहरुको जीविकोपार्जनको आधार बनेको छ', थापाले भन्नुभयो, 'खसीबोका बेचेरै ​सामान्यता एक लाखदेखि वर्षमा तीन लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।'

अमेलियाका बाख्रा पालक किसानले कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था नै गठन गरेका छन् । त्यही संस्थामार्फत खसीबोका किनबेच हुन्छ । सहकारी संस्थामा १ हजार १ सय ६५ जना सदस्य छन् । कर्मठ जस्तै देउखुरीमा बाख्रा पालक किसानहरुका अरु तीन वटा महिला सहकारी संस्था छन् । जसमा प्रत्येकमा एक हजार बढी सदस्य आबद्ध छन् । सहकारीका अधिकांश सदस्य व्यावसायिक बाख्रा पालनमा लागेका छन् ।

रोजीरोटी जुटाउनका लागि अधिकांश पुरुषहरु बाहिर जाने चलन पनि बाख्रा पालन व्यवसाय राम्रो भएपछि कम हुँदै गएको छ । श्रीमती सहकारीमा आबद्ध भएको सुन्दा शङ्का गर्ने विदेश गएका श्रीमानहरु पनि अहिले श्रीमतीसँगै बाख्रा पालन व्यवसायमा  लागेका छन् ।

देउखुरीका स्थानीयलाई समूह बनाएर बाख्रा पालन व्यवसायमा लाग्न उत्प्रेरित गर्ने काम हेफर इन्टरनेशनलको सहयोगमा स्थानीय ग्रामीण महिला र पुनर्स्थापना केन्द्रले गरेको हो । सुरुमा महिलाहरुलाई समूह बनाएर व्यावसायिकताबारे बुझाउने र सानोसानो बचत गर्न समेत सिकायो ।

यस संस्थाले बिउ पूँजीका रुपमा दुई  वटा बाख्रा किसानलाई दिने र त्यसबाट बच्चा जन्मिएपछि फेरि दुई वटा अरु किसानलाई ती दुई पाठापाठी दिनुपर्ने व्यवस्था अनुसार अभियान थालियो । उन्नत जातको बाख्रा दिने, आवश्यक प्राविधिक सहयोग गर्ने, खोर सुधारदेखि किसानको उत्पादनलाई तौलेर सहकारीले खरिद गर्ने र सहकारी बाहिरी जिल्लामा वा ग्राहकलाई बेच्ने काम गरिरहेको छ । जसले गर्दा किसानहरु आफूले बजार नपाउने र सस्तोमा बेच्नुपर्ने बाध्यता अब नरहेको बताउँछन् ।

आफ्नो घरखर्चका लागि बाख्रा पाले पनि समूह बनाएपछि मात्रै व्यवस्थित रुपमा अघि पाल्ने काम भएको स्थानीयले बताएका छन् । सुरुसुरुमा गाउँमा समूह बनाउँदा महिलाहरुलाई कहाँ जान्छे किन जान्छे भनेर शङ्का गर्ने पुरुषहरु पनि अहिले बाख्रा पालन व्यवसायमा लागेका छन् ।

'श्रीमती समूह/ सहकारी जाँदा कहाँ गइस्, किन गइस् भनेर शङ्का गर्नेहरु पनि अहिले विदेशबाट फर्केर श्रीमतीसँगै बाख्रा पालनमा लागेका छन्', अध्यक्ष थापाले भन्नुभयो, 'हाम्रो गाउँमा दिदीबहिनीको मात्रै होइन दाजुभाइको पनि आम्दानी बढेको छ ।'

 ​

माओवादी पूर्व लडाकु गंगा घर्तीले पनि बाख्रा पालन व्यवसाय गरिरहनु भएको छ । ९ वर्षसम्म युद्धमा हिँडेर फर्की मजदुरी गरिरहेका श्रीमान र घरायसी काममै सीमित गंगाले २ वटा बाख्राबाट व्यवसाय थाल्नुभएको थियो।

'हामी त्यसबाट निस्किसकेपछि हाम्रो पारिवारिक अवस्था त्यस्तै थियो, मैले घरायसी काम गर्ने र श्रीमानले ज्याला मजदुरी गर्नुहुन्थ्यो, जे जस्तो भए पनि आफ्नै खुट्टामा उभिनुपर्छ भनेर दुई  वटा बाख्राबाट व्यवसाय थालेको हुँ', गंगाले भन्नुभयो, 'एक वर्षमा तीन चार लाख रुपैयाँको त खसीबोका बेच्छौँ'।

बाख्रा पालन सुरु गर्नुअघि उहाँका श्रीमानले अरुको मजदुरी गर्नुहुन्थ्यो । अहिले उहाँले मजदुरी छोडेर दुवै जनाले बाख्रा पालिरहनु भएको छ । गंगाका खोरमा अहिले अहिले ८० वटा बाख्रा र खसीबोका छन । दुवै जना बाख्रा पालन व्यवसायमा रमाउनु भएको छ । 

उत्पादनसँगै बिचौलियाको चलखेल हुन नदिन बाख्रा पाल्ने किसानहरु मिलेरै सहकारी संस्था खोलेर ती सहकारीमार्फत नै खसीबोका बिक्री गरिरहेका छन् । पहिला पहिला किसानले खसीबोका पाले पनि बिचौलियाका कारण उचित मूल्य पाउँदैनथे । किसानका घरघरमा व्यापारी डुल्थे, आफैँ मूल्य ताेक्थे । यसरी हुने व्यापारमा किसानले कम मूल्य पाउँथे । अहिले किसानहरुले बनाएका सहकारीमार्फत जिउँदो खसीबोकाको तौल गरेर मूल्य निर्धारण गरिन्छ । बाख्रा पालक व्यवसायी वसन्त अधिकारी सहकारीमार्फत कारोबार हुन थालेपछि सजिलो भएको बताउनुहुन्छ ।

'किसानहरुलाई पनि राम्रो रेट प्राप्त भइरहेको छ, सुविधा  पनि भइरहेको छ । किन्ने उपभोक्ताहरुलाई पनि सहकारीमा आएर किन्दा निकै सजिलो भएको छ', अधिकारीले भन्नुभयो, 'सहकारीमार्फत व्यवसाय गर्दा हाम्रो आत्मबल पनि बढेको छ ।' 

किसानहरुको चाहना अनुसार लमही नगरपालिकाले वडा नम्बर ७, ८ र ९ लाई बाख्रा पकेट क्षेत्र बनाएर किसानहरुलाई आवश्यक सहयोग गर्दै आइरहेको छ । लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले किसानहरुलाई व्यावसायिक बनाउन आफूहरुले काम गरिरहेको बताउनुभयो ।

'किसानहरुलाई बाख्रा पालन सम्बन्धी तालिम दिने, आधुनिक गोठ गराउने, डालेघाँस लगाउन सहयोग गर्ने, प्राविधिकको व्यवस्था गर्ने लगायतका काम गरेका छौँ', नगरप्रमुख केसीले भन्नुभयो, ' हामीले सहयोग गर्न थालेपछि देउखुरीका किसानहरु बाख्रा पालन व्यवसायतर्फ उन्मुख भइरहेका छन्।' 

देउखुरीमा रहेका चार वटा सहकारी संस्थाबाट चार सय खसीबोका यसपटकको दशैँमा काठमाण्डौ पठाइएका थिए । देउखुरीका चार वटा सहकारी संस्थाले वार्षिक ५ हजार खसीबोका बिक्री गर्दै आएका छन् ।



Share Your Thoughts