राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुशी लाग्याे : वनकरिया



Dharana    

access_time 22 Sep 2021

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन्। यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ। 

राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुशी लागेको पूजा वनकरियाले जनाइन्। उनले भनिन्, 'राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुशी लागेको छ।'

यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए। आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अङगमा आफूहरु पनि सामेल हुन थालेकामा खुशी लागेको जनाए। 

प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्नती अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको बताए। नेपालमा नै जम्मा ९१ जनसंख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन्। मनहरि– ४ का वडाध्यक्ष ध्रुब खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए। 

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, ुकेही वर्ष अघिसम्म वनमा आधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुँदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुशी बनाएको छ।'

वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए। ती समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ आचार्यले जनाए। उनले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताए। हालसम्म पम्फा, सन्तोषी र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको उनले जानकारी दिए। यसैगरी कक्षा १ देखि १० सम्म कूल १५ छात्रछात्रा विद्यालय आउने गरेका छन्। 

मनहरि– ४ का वडासचिव विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए। शिविरको पाँच दिन थप गरिएको छ। RSS



Share Your Thoughts