बलियो ‌ओमानसँग भिड्नुअघि ब्याटिङमा विश्वस्त नेपाल : शतक खोजिरहेका कुशल र रोहित



Dharana    

access_time 14 Sep 2021

काठमाडौँ /  गत अप्रिलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट कुशल भुर्तेलले विश्व क्रिकेटको ध्यान ताने।  मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा कुशलले आफूले खेलेका फाइनलसहित सबै ५ खेलमध्ये चार वटामा अर्धशतक बनाए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

कुशलले पहिलो खेलमै ६२ रनको पाली खेलेको थिए।  कुशलको आगमनपछि नेपाली ब्याटिङ प्रारम्भमा देखिँदै आएको समस्या समाधान नै भयो। उनले आसिफ शेखसँग मिलेर हरेक जसो खेलमा गतिलो सुरुवात दिलाए। फाइनलमा कुशलकै शानदार प्रदर्शनपछि नेपालले नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन जोडेको थियो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन नेपालले कहिल्यै बनाउन सकेको थिएन।  त्यसयता कुशल र आसिफ नेपाली ब्याटिङको प्रारम्भिक जोडी बनिरहेका छन्।

ओमानमा गत साता पपुआ न्युगिनीविरुद्ध भएको दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा यो जोडी उत्रियो। कुशलले पहिलो खेलमा १५ र दोस्रो खेलमा ३ रन जोडे। आसिफले पहिलो खेलमा ३० र दोस्रो खेलमा ३ रन बनाए। तर यी दुवै खेलमा लयमा देखिए मध्यक्रमका रोहित पौडेल। उनले पहिलो खेलमा ४१ र दोस्रो खेलमा ८६ रन बनाए।   रोहित पौडेल (बायाँ) अन्य ब्याट्सम्यान सस्तोमा आउट भएर टोली दबाबमा पर्दापनि रोहित डगमगाएनन्।

ओमानमा सोमबारदेखि सुरु भएको विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय शृंखलाअघि रोहितको यो लयले अपेक्षा बढाउनु अस्वभाविक थिएन। नेपाली क्रिकेटको प्राय ब्याटिङ सँधै धर्मर बन्दै आएको पृष्ठभूमिमा कुशल र आसिफको बलियो सुरुवात पनि अपेक्षित थियो।  संयोगबस , बलियो सुरुवात अनि कुशल र रोहित दुवैको शानदार प्रदर्शनमा नेपालले त्रिकोणात्मक शृंखलामा विजयी सुरुवात गरेको छ। सोमबार राति सम्पन्न खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हरायो।

२ सय ३१ रनको लक्ष्य नेपालले एक ओभर बाँकी रहँदै पूरा गरेको थियो। कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाए। नेपालले पहिलो विकेटका लागि १४ ओभरमा ६६ रनको साझेदारी गरेको थियो।  एलबीडब्लु धरापमा परेपछि कुशलको शतक पूरा गर्ने प्रयाश सफल हुन सकेन। चौथो नम्बरमा ब्याटिङमा आएका रोहितले पाचौँ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। उनले तेस्रो विकेटका लागि कुशल भुर्तेलसँग पनि ५१ रनको साझेदारी गरेका थिए। 

उनले पपुआ न्युगिनीविरुद्धको दोस्रो खेलमा पनि नेपालले ९ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि ८९, चौथो विकेटका लागि विनोद भण्डारीसँग ४१ र सातौँ विकेटका लागि करन केसीसँग ६६ रनको साझेदारी गरेका थिए।  शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगितामा ओमान निकै सशक्त देखिएको छ। उसले हालसम्म १० खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा छ।

सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको त्रिकोणात्मक शृंखलामा ओमानले दुवै खेलमा नेपाललाई पराजित गरेको थियो। पछिल्ला दुई खेल हेर्ने हो भने कुशल  र रोहित शतक नजिकै पुगेर आउट भएका छन्। उनीहरु शतक बनाउन तयार देखिन्छन्।



Share Your Thoughts