आत्महत्या न्यूनीकरणका लागि ‘थ्री सर्कल’ अवधारणा सुरू


अगर बत्ती

Dharana    

access_time 02 Aug 2021

रूपन्देही  । जिल्लामा प्रहरीले आत्महत्या न्यूनीकरणका लागि ‘थ्री सर्कल’ अवधारणा सुरू गरेको छ। बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए। 

रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको प्रहरीले जनाएको छ।  बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका आत्महत्याको बढी जोखिमयुक्त क्षेत्र छन्।  आइतबार प्रहरीले ‘थ्री सर्कल’ अवधारणा ल्याएको छ। प्रहरी उपरीक्षक मनोज केसीका अनुसार यो अवधारणा अन्तर्गत तीव वटा वृत्तमा आत्महत्या हुने क्षेत्रलाई विभाजन गरिनेछ। 

 ‘सबैभन्दा बढी आत्महत्या हुने ठाउँलाई रातो वृत्तमा राखिन्छ। कम हुने ठाउँलाई पहेँलो र आत्महत्या नहुने क्षेत्रलाई हरियो वृत्तमा राखिन्छ,’ उनले भने।  प्रहरी उपरीक्षक केसीका अनुसार समुदायमा प्रहरी पुग्‍ने भएकाले पहिले उनीहरूलाई यो अवधारणा बुझाउन जरुरी छ। त्यसैले ती ठाउँका प्रहरीलाई तीन वृत्त कार्यनीतिको अनुशिक्षण सञ्चालन गरिने उनले बताए।  प्राथमिकताको आधारमा इलाका प्रहरी कार्यालय अन्तर्गतका वडाहरूमा आत्महत्या जोखिम मापन गरिन्छ। त्यसपछि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राख्ने काम सुरू हुने केसी बताउँछन्। 

सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू छन्। त्यसरी आत्महत्या गर्ने ठाउँमा मनोवैज्ञानिक अनुशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता प्रहरीले देखेको छ।  ‘तत्काल कुनै आवेगमा आएर मानिसहरू आत्महत्या गर्न पुग्छन्, कुनै समस्याको निष्कर्षमा नपुग्ने, समाधान नदेखेपछि जीवनको अन्त्य ठान्छन्,’ केसी भन्छन्, ‘मानिसलाई जीवनको महत्व र मूल्यबारे नै सबैभन्दा पहिले विशेष प्रशिक्षण दिन जरुरी देखिएको छ।’  बजारमा सहज रूपमा पाइने कीटनाशक औषधी पनि आत्महत्याको अर्को कारण रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

  यो अवधारणा अन्तर्गत कीटनाशक विषादीको बिक्री अभिलेख राखिने केसीले बताए। किटनाशक औषधीको बिक्री वितरण सम्बन्धित निकायको सिफारिसमा मात्र गर्न पहल गरिने उनले बताए।  यसरी वृत्त निर्माणपछि पालिका प्रमुख, उप-प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखसहितको समिति निर्माण गरिने उनले बताए।  कार्यक्रम सञ्चालन हुने सम्बन्धित वडाहरूमा स्थानीय पालिका तथा अन्य सरोकारवालासहितको वडा समिति निर्माण हुन्छ। त्यसपछि पालिका, मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल गरिन्छ। 

रातो वृत्त भएको ठाउँमा मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ र प्रहरीसहितको टोलीबाट मासिक परामर्श सेवा सञ्चालन गर्ने योजना छ।  कम जोखिम रहेको पहेंलो सर्कलभित्र प्रहरी र अन्य सरोकारवाला टोलीबाट मासिक अन्तरक्रिया हुन्छ।  यो अभियान सञ्चालन गर्नुअघि प्रहरीले आत्महत्या प्रभावित क्षेत्रमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट देखिएका तथ्यलाई आधार बनाएर कार्यक्रम चलाउने निष्कर्षमा प्रहरी पुगेको केसीले बताए।

 ‘पहिले जसले प्रयास गरेको थियो, उसले फेरि पनि दोहोर्‍याएको देखियो, जसको परिवारमा घटना भएको थियो, फेरि त्यही परिवारमा पनि दोहोरिएको देखिएको छ,’ प्रहरी उपरीक्षक मनोज केसी भन्छन्।  उनका अनुसार मानसिक समस्या भएका व्यक्तिमा पनि यो समस्या छ। घरेलु हिंसा भएको क्षेत्रमा पनि छ।  यस्तै, दीर्घरोगीले पनि आत्महत्या गरेका छन्। ‘त्यस्ता ठाउँमा घर-घरमा पुगेर हामी अनुशिक्षण कार्यक्रम चलाउँछौं,’ उनले भने।  केसीका अनुसार दुई महिनाभित्र सबभन्दा बढी हुने ठाउँ र सबभन्दा कम हुने ठाउँको वृत्त निर्माण गरिसकिने र त्यसपछि अनुशिक्षण चलाइने बताए।



Share Your Thoughts